समाधान खोज्दै ओली–प्रचण्ड

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवादले जरो गाडेको छ । विवादित विषयलाई सचिवालयले टुङ्ग्याउने निर्णय भए पनि सचिवालय बैठकमा प्रवेशसमेत पाउन सकिरहेको छैन । बिहीवार र शुक्रवार बसेको नेकपाको सचिवालय बैठकमा नेकपाभित्र विवादित रहेको सभामुख चयन, एमसीसी विवाद, प्रदेशको राजधानी र नामाकरण लगायतको विषयमाथि छलफल गर्ने तयारी गरेको थियो । तर, सचिवालय बैठकमा विवादित विषयमाथिको छलफलमा प्रवेश गर्न सकिरहेको छैन ।

‘बिहीवार राष्ट्रियसभाको उम्मेदवार चयनको विषयमा चार घण्टा लामो बैठक बस्यो । तर, त्यो निष्कर्षविहीन हुन पुग्यो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसलाई पूर्णता दिनको लागि शुक्रवार पुनः बैठक बस्यो । त्यसले राष्ट्रियसभाको उम्मेदवार मनोनयन ग¥यो ।’ नेकपाको सचिवालय बैठकले १६ जना उम्मेदवारको नाम टुङ्गो लगायो । तत्कालीन एमालेबाट ९ र माओवादीबाट ७ जनाको नाम परेको छ । माघ ९ गते हुन लागेको निर्वाचनका लागि नेकपाले उम्मेदवारको छनोट गरेको हो । १९ जनाको कार्यावधि सकिन लागेपछि निर्वाचन हुन लागेको हो । एक जना राष्ट्रपतिबाट मनोनयन हुनेछ । भने, दुई जना राजपालाई सहयोग गर्ने भएको छ ।

राष्ट्रियसभाको उम्मेदवार चयनको विषयमा पनि सचिवालय बैठकमा सबै नेताहरू आ–आफ्नो पकेटबाट नाम लिस्ट निकालेपछि बैठक लम्बिएको थियो । सचिवालय बैठकमा वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने बाटो खुलाउनसमेत प्रस्ताव गरेका थिए । वामदेवलाई रुझाउनकै लागि ओली–प्रचण्डले पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाएका थिए । तर, यो पटक वामदेवले आफूलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने प्रस्ताव गरेपछि सचिवालय बैठकमा चर्काचर्की परेको थियो । जुन कुरामा सहमति जुट्न सकेन र अस्वीकार भयो ।

राजपासँगको तालमेलमै लफडा स्थायी कमिटीको बैठक चलिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी ढङ्गबाट तालमेल गरेको भन्दै स्थायी कमिटी सदस्यहरूले समेत खुलेरै विरोध गरेका थिए । नेकपा–राजपासँगको तालमेलले प्रदेश २ मा समेत तहल्का पैदा भएको थियो । नेकपाले राष्ट्रियसभाको निर्वाचनको लागि राजपासँग तालमेल गरेको छ । राजपासँगको तालमेलले पनि नेकपाभित्र खैलाबैलासमेत भएको थियो । नेकपाभित्र विवादले जरो गाडिँदै गएको बेलामा राजपासँगको तालमेलले नेकपाका नेताहरूलै असतुष्ट बनेका थिए ।

प्रकाशित मितिः   २० पुष २०७६, आईतवार ०९:१६