दुई ठूला आयोजना निर्माण हुँदै

सुर्खेत : सुर्खेतमा दुई वटा ठूला खानेपानी आयोजना सञ्चालन हुने भएका छन् । वीरेन्द्रनगर उपत्यका र गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा ती आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । गुर्भाकोटमा ६२ करोडको लागतमा आयोजना निर्माण गर्न लागिएको छ । नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का जनतालाई खानेपानी पु¥याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ्ग गरेर आयोजना अघि बढाइएको हो । सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम धमाधम अघि बढिरहेको आयोजना प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत आएका थिए ।

गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले जानकारी दिए । ६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले जानकारी दिए । यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यसैगरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्याप्त खानेपानी आपूर्ति गर्न भेरीको पानी ल्याउने योजना पनि चाँडै अघि बढ्ने भएको छ । उपत्यकामा वर्षेनी हुने खानेपानी अभाव पूर्ति गर्न भेरी नदीको पानी ल्याउने योजना अघि सारिएको हो । जस अन्तर्गत अहिले भेरी नदीमा नमूना परीक्षणका लागि आवश्यक संरचना निर्माण गर्न लागिएको छ । जमिनमुनी संरचना निर्माण गरेर पानी संकलन गर्ने र त्यसको परीक्षण गरेपछि पानीको गुणस्तर मापन, पम्पिङ्ग गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था पत्ता लाग्ने जनाइएको छ ।

यो कार्य माघ दोस्रो हप्तासम्म सम्पन्न हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका इञ्जिनियर बालाराम तिवारीले जानकारी दिए । जसका लागि चौडाई २० मिटर र लम्बाई झण्डै १० मिटरको संरचना निर्माण हुँदैछ । उक्त संरचना निर्माण भएपछि कम्तीमा ५० देखि ७५ लिटर प्रतिसेकेण्ड पानी जम्मा हुनेछ । यो परीक्षणपश्चात सकेसम्म आगामी वैशाखसम्ममा उपत्यकामा पानी ल्याउनेगरी काम अघि बढाइने जनाइएको छ ।

६ किलोमिटर दूरीमा रहेको अमृतडाँडामा पाइप विस्तार गरेर एकसय हर्षपावरको मोटरमार्फत भेरी नदीबाट पानी पम्पिङ्ग गरिनेछ । तीन सय ९० लिटर प्रतिसकेण्ड पानी सुर्खेत उपत्यका ल्याउने उद्देश्यले बृृहत भेरी नदी पम्पिङ्ग आयोजना अघि बढाइको हो । यो आयोजनाका लागि संघीय खानेपानी विभागले चार करोड बजेट विनियोजन गरेको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ । मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महŒवाकांक्षी योजनासहित मन्त्रालयले काम अघि बढाएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पनि भेरीको पानी जतिसक्दो छिटो सुर्खेत उपत्यकामा ल्याउन पहल भइरहेको बताए । उनले भेरीको पानी ल्याएमा यहाँको खानेपानी अभावको समस्या समाधान हुने समेत बताए । कर्णाली प्रदेश सरकारले पनि यो आयोजनालाई प्राथमिकता दिने जनाएको छ ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार पारिसकिएको थियो । जस अनुसार भेरी पुल नजिकै पूर्वतर्फको (दाहसंस्कार स्थल) बाट इन्टेक निर्माण गरी पानी पम्पिङ्ग गरिने छ । वीरेन्द्रनगरस्थित अमृतडाँडामा रिजर्भ ट्यांकी निर्माण गरी उपत्यकामा पानी वितरण गरिनेछ । निर्माणधीन चारलाइन सडकको दुवै छेउमा र हटलाइन सडकमा एक साइडमा मात्रै पाइपलाइन विच्छ्याइनेछ । हटलाइन सडकदेखि उपत्यकाको माथिल्लो बस्तीका लागि हालकै खरीखोला र बोरीखोलाको पानी वितरण गरिने डीपीआर तयार गरिएको छ । उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानको रूपमा यो योजना निर्माण गर्न लागिएको हो । उपत्यकामा अहिले सुर्खेत उपत्यका खानेपानी आयोजनाले पानी वितरण गरिरहेको छ । तर त्यो पर्याप्त छैन ।

प्रकाशित मितिः   १८ पुष २०७६, शुक्रबार ०९:०९