भ्रमण वर्ष-२०२० : घुमौं कर्णाली, हेरौं भूस्वर्ग
सुर्खेत : नेपालकै सबैभन्दा ठूलो ताल रारा । सबैभन्दा लामो नदी कर्णाली । सबैभन्दा गहिरो ताल शे–फोक्सुण्डो । सबैभन्दा अग्लो स्थानको मानव बस्ती, धो उपत्यका र सबैभन्दा अग्लो पचालझरना । ‘कर्णाली किन घुम्ने ?’ भनेर कसैले सोधेमा त्यसको जवाफका लागि उल्लेखित दृष्टान्त नै पनि पर्याप्त हुन्छ । तर यहाँको पर्यटकीय वैभव यत्तिमै मात्र सीमित भने छैन । पुरातात्विक काँक्रेविहार, जमिनमुनीबाट सधैं बलिरहने दैलेखको ज्वालादेखि ऐतिहासिक सिंजा उपत्यकासहित चार दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य कर्णालीमा छन् ।
प्राकृतिक सम्पदा कर्णालीको सबैभन्दा ठूलो सम्पत्ति हो । पूर्वाधार विकासमा पछि परेका कारण विकटजस्तो लाग्ने यहाँको भौगोलिक अवस्था पर्यटकीय दृष्टिले उच्च महत्वको छ । वनस्पतिदेखि वन्यजन्तुहरूमा पाइने विविधता होस् या त प्रकृतिले नै निर्माण गरिदिएका ताल, झरना र हिमाल नै हुन् । जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने सामथ्र्य राख्दछन् ।
धार्मिक दृष्टिले पनि कर्णाली उत्तिकै पर्यटनमैत्री छ । देउतीबज्यैदेखि लिएर श्रीस्थान, नाभिस्थान, चन्दनाथ मन्दिरसम्मका धार्मिक आस्थाका केन्द्रले पर्यटक लोभ्याउँछन् । त्यसमाथि कैलाश मानसरोवर विश्वकै ध्यान तान्नसक्ने स्थल हो । यसबाट पनि कर्णालीले लाभ लिन सक्दछ । हुम्ला हुँदै मानसरोवर पुग्ने मार्गलाई सबैभन्दा उपयुक्त मान्ने गरिएको छ । प्राकृतिक र धार्मिक स्थलहरूका अलावा भाषा, साहित्य, कला, संस्कृति, संस्कार, सभ्यता र जीवनशैला तथा भेषभूषाले पनि पर्यटक लोभ्याउँछन् । यिनै विशेषताहरूका कारण कर्णालीलाई एक भूस्वर्गको रूपमा चर्चा गर्ने गरिएको छ । कर्णाली भूस्वर्ग किन पनि हो भने यो प्रदेशका दश वटै जिल्लामा कुनै न कुनै आकर्षक पर्यटकीय गन्तव्य छन् ।
यहाँका गन्तव्यहरूमा पर्यटक आकर्षित गर्न कर्णाली प्रदेश सरकारले पनि विशेष योजना बनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशको दश वर्षीय पर्यटन गुरुयोजना र रणनीतिक योजना तयार पारिएको जानकारी दिए । उक्त गुरुयोजना नेपाल भ्रमण वर्ष–२०२० उद्घाटनका क्रममा आज (बिहीवार) सार्वजनिक गरिदैंछ । प्रदेश सरकारले बुलबुले उद्यानबाट भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ ।
कर्णालीका दश जिल्लामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु यस्ता छन् :
(१) सुर्खेत
सुर्खेतमा रहेको काँक्रेविहार कर्णालीकै प्रमुख पर्यटकीय स्थल हो । भग्नावशेष उत्खनन् गरेर निकालिएका पुरातात्विक वस्तुहरूलाई जोडेर अहिले काँक्रेविहार पुनर्निर्माण गरिएको छ । यसका साथै सुर्खेतमा बुलबुले ताल, देउतीबज्यै मन्दिर, बराहताल, जाजुरा दह लगायतका पर्यटकीय स्थलहरू छन् ।
(२) डोल्पा
डोल्पामा नेपालको सबैभन्दा गहिरो शे–फोक्सुण्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सेण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ । पदयात्राका लागि पनि डोल्पालाई उपयुक्त मानिन्छ । सबैभन्दा अग्लो स्थानमा रहेको मानवबस्ती धो उपत्यका डोल्पामै पर्दछ ।
(३) कालीकोट
नेपालको सबैभन्दा अग्लो पचालझरना कालीकोटमा पर्दछ । यसको उचाई तीन सय ८१ मिटर रहेको बताइन्छ । यसका साथ–साथै यहाँको जीवनशैली र प्राकृतिक सम्पदाले पर्यटकहरूलाई आकर्षित गर्दछन् ।
(४) दैलेख
दैलेख धार्मिक रूपले धनी जिल्ला हो । पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटकस्थलको रूपमा चिनिन्छ । श्रीस्थान, नाभिस्थानका साथै दुल्लू दरबार यहाँका प्रमुख गन्तव्य हुन् । दैलेखमा अहिले पेट्रोलियम पदार्थको अन्वेषण कार्य भइरहेको छ ।
(५) जुम्ला
जुम्लाको सिंजा उपत्यका खस सभ्यताका साथ–साथै नेपाली भाषाको उद्गम थलो हो । जिल्ला सदरमुकाम खलंगाबजारबाट तीन घण्टाको बस यात्रापछि सिंजा क्षेत्र पुगिन्छ । जुम्लामै काञ्जीरोवा, पातारासी हिमाल छन् । खलङ्गामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । मार्सी धान, स्याउ र सिमी उत्पादनले पनि जुम्लालाई प्रख्यात बनाएको छ । जुम्ला पर्यटकीय गन्तव्यका साथै अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्दछ ।
(६) जाजरकोट
बाईसे–चौबिसे राज्यहरू हुँदा जाजरकोट पनि एक राज्य थियो । जाजरकोट दरबार त्यही बाइसे र चौबीसे राज्यको इतिहास बोकेको ऐतिहासिक पर्यटकीय स्थल हो । जिल्लाको सदरमुकाममै दरबार रहेकाले त्यहाँ पुग्न सजिलो छ ।
(७) रूकुम पश्चिम
स्यार्पु ताल कर्णाली प्रदेशको रूकुम पश्चिममा पर्दछ । सदरमुकाम मुसीकोटदेखि करिब दुई घण्टाको पैदल यात्रापछि स्यार्पु ताल पुगिन्छ । दुई दशमलव ६ वर्ग किलोमिटरमा यो ताल फैलिएको छ । यसका साथै डिगे्र साइ मन्दिर पनि यहाँका पर्यटकीय स्थल हो ।
(८) सल्यान
कुपिण्डे दह सल्यानमा पर्छ । त्यहाँ पुुग्नका लागि सुर्खेबाट तीन घण्टा लाग्छ । यसको लम्बाई १२ सय २६ मिटर, दुई सय ५० मिटर गहिराइ, परिधि दुई हजार आठ सय र क्षेत्रफल ३० हेक्टर रहेको छ । यो ताल प्राकृतिक रूपले सुन्दर मानिन्छ । त्यहाँ बराह मन्दिर रहेको छ ।
(९) मुगु
मुगु रारा तालले परिचित छ । ‘धरतीको अप्सरा’ भनेर चिनिने यो ताल नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा समुद्री सतहदेखि दुई हजार नौ सय ७२ मिटर उचाईमा रहेको छ । यो ताल १० दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । लम्बाई पाँच किलोमिटर र चौडाई तीन दमशल दुई किलोमिटर छ भने गहिराई एक सय ६७ मिटर रहेको छ ।
(१०) हुम्ला
नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट दुई हजार नौ सय मिटरको उचाइमा छ । सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो ।
प्रकाशित मितिः १६ पुष २०७६, बुधबार ०८:३८
साझा बिसौनी ।