‘कर्णालीलाई विश्व बजारमा चिनाउँछौं’
- आन्तरिक पर्यटकहरुले मात्र कर्णालीको पर्यटन विकास हुन सक्दैन । विदेशी पर्यटकहरुको संख्या बढाउनेतर्फ हाम्रो जोड रहेको छ ।
- खस भाषा र सभ्यताको उद्गमस्थल सिंजा उपत्यका पनि खोज अनुसन्धानकर्ताहरुदेखि लिएर अन्य जो–कोहीका लागि रुचि र चासोको विषय हुनसक्छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को सुरुवात आज (बुधवार)देखि हुँदैछ । पर्यटन प्रवद्र्धनका लागि ल्याइएको यो योजना संघीय सरकारको मात्रै नभएर प्रदेश सरकारले पनि उत्तिकै महत्व दिएको योजना हो । जस अन्तर्गत कर्णाली प्रदेश सरकारको आयोजनामा आज सुर्खेतको बुलबुले उद्यानबाट कर्णालीमा भ्रमण वर्षको शुभारम्भ गरिदैछ । यसै सन्दर्भमा भ्रमण वर्षको तयारी, कर्णालीमा पर्यटन विकासका सरकारी योजना लगायतका विषयमा हाम्रा सहकर्मी सीता वली ले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः
भ्रमण वर्ष–२०२० लाई कर्णाली प्रदेश सरकारले कसरी मनाउने योजना बनाएको छ ?
पुस १६ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्दैछौं । हाम्रो मन्त्रालयको अध्यक्षतामा हुने कार्यक्रममा कर्णाली प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गर्ने योजना बनाएका छौं । यहाँका सबै पर्यटकीय स्थलहरूलाई प्रवद्र्धन गर्ने योजना हाम्रो रहेको छ । कर्णालीका सम्पूर्ण पर्यटकीय स्थलहरूलाई पहिले विश्व बजारमा चिनाउनु छ । यसका साथै भ्रमण वर्षको अवधिभर नै पर्यटन सम्बन्धी केही न केही गतिविधि गरिरहने योजना हामीहरूको रहेको छ ।
भ्रमण वर्ष सफल बनाउनको लागि ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति समेत गठन गरेका छौं । त्यस्तै ६ वटा उप–समितिहरू समेत गठन गरेका छौं । जसले व्यापक प्रचार–प्रसारको काम गरिहरहेका छन् । भ्रमण वर्षमा मात्रै नभइ हामीहरूले कर्णालीको पर्यटन प्रवद्र्धन गर्नको लागि अन्य थुप्रै योजनाहरू समेत बनाएका छौं ।
भ्रमण वर्षमा कति पर्यटक कर्णाली भि†यााउने लक्ष्य छ ?
गत वर्ष हामीले घोषणा गरेको कर्णाली–रारा पर्यटन वर्षमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटक भिœयाउने लक्ष्य राखेका थियौं । प्रदेशका दशवटै जिल्लाहरूमा गरी पाँच लाख पर्यटकहरू उक्त वर्षमा आएको हामीसँग तथ्यांक छ । भ्रमण वर्ष–२०२० मा समेत हामीले एक लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएका छौं । त्यसको लागि कर्णाली प्रदेशका पर्यटकीय स्थलहरूको विश्वबजारमा चर्चा हुनु जरुरी छ । कर्णाली घुम्न लायक ठाउँ हो भन्ने पर्यटकहरूलाई लाग्यो भने मात्रै पर्यटकहरू कर्णाली आउँछन् । त्यसको लागि कर्णालीका पर्यटकीय स्थलहरूको व्यापक प्रचार–प्रचार गर्नुपर्दछ । त्यो हामीहरूले गरिरहेका छौं ।
कर्णालीमा भौगोलिक विकटता छ । आवश्यक पूर्वाधार छैनन् । विदेशी पर्यटक कसरी आकर्षित हुन्छन् ?
कर्णाली आउने पर्यटक भनेको नै प्रकृतिमा रमाउन आउने हो । कर्णाली प्रदेशका अर्गानिक खाना, स्वच्छ हावापानी, साहसिक जलयात्रा लगायत यस्तै प्रकृतिको मजा लिन पर्यटकहरू कर्णाली आउँछन् । अलिकति सडकलाई भने सुधार्नु जरुरी रहेको छ । यस विषयमा हामीहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लेखी पठाएका छौं । संघ सरकारले समेत कर्णाली राजमार्गको सडकमा ध्यान दिनु जरुरी छ ।
नेपालको सबैभन्दा ठूलो ताल, सबैभन्दा गहिरो ताल, सबैभन्दा लामो नदीजस्ता थुपै्र घुम्नलायक पर्यटकीय स्थलहरू छन् । दैलेखको ज्वाला, नाभिस्थान, श्रीस्थान, कालीकोटको पचालझरना, पञ्चदेवल, जुम्लाको तातोपानी, जाजरकोटको दरबार, सल्यानको कुपिण्डे तालदेखि सुर्खेतको बुलबुले, काँक्रेविहार र देउतीबज्यै लगायत दशवटै जिल्लामा केही न केही प्रख्यात पर्यटकीय स्थलहरू छन् । यसका साथै खस भाषा र सभ्यताको उद्गमस्थल सिंजा उपत्यका पनि खोज अनुसन्धानकर्ताहरूदेखि लिएर अन्य जो–कोहीका लागि रुचि र चासोको विषय हुन सक्छ । त्यसैगरी कर्णालीको जनजीवन, यहाँका संस्कार र संस्कृतिहरू पनि अन्य क्षेत्रका लागि आकर्षण हुन् । यस्ता पर्यटकीय स्थलहरू घुम्न सबै आउँछन् । त्यसको लागि व्यापक प्रचार–प्रसारको खाँचो छ ।
भ्रमण वर्षको उद्घाटनमा के–कस्ता कार्यक्रम हुँदैछन् ?
उद्घाटनको दिन विशेषगरी दशै जिल्लाका संस्कृतिहरू प्रदर्शन गर्ने तयारीमा छौं । सोही कार्यक्रममा कर्णाली प्रदेश सरकारले निर्माण गरेको पाँच वर्षे कार्ययोजनासहित दश वर्षे रणनीतिक योजना सार्वजनिक गर्दैछौं । यतिमात्र होइन कर्णालीका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, भिडियो प्रदर्शनी समेत गर्ने योजना सरकारको रहेको छ । साथै सोही दिन विदेशी पर्यटकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जसले अन्य विदेशीहरूलाई नेपालीले गर्ने सम्मानको प्रचार होस् भन्ने हाम्रो अपेक्षा हो । आन्तरिक पर्यटकहरूले मात्र कर्णालीको पर्यटन विकास हुन सक्दैन । विदेशी पर्यटकहरूको संख्या बढाउनेतर्फ हाम्रो जोड रहेको छ ।
पाँच वर्षे कार्ययोजना र दश वर्षे रणनीतिक योजनामा के छ ?
कर्णालीको समग्र पर्यटन विकासको योजना यसमा समावेश गरिएको छ । योजना अन्तर्गत भविष्यमा कुनै पनि सडक सञ्जालले नबिगार्ने गरी कम्तीमा चार–पाँचवटा पर्यटन पदमार्ग निर्माण गर्दैछौँ । जसले कर्णाली प्रदेशका दशवटै जिल्लाका पर्यटकीय स्थलहरूलाई जोड्न सकोस् । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम पाँचवर्षे कार्ययोजनाभित्र परेको छ । प्रदेशका सम्पूर्ण पर्यटकीय क्षेत्रहरूको ‘जीपीएस म्यापिङ’ समेत गर्दैछौं । सुर्खेत, मुगु, हुम्ला र डोल्पामा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने, कर्णाली प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरूको वृत्तचित्र निर्माण गरी विभिन्न स्थानहरूमा प्रदर्शन गर्ने योजनासहित हामी अगाडि बढिरहेका छौँ ।
प्रकाशित मितिः १६ पुष २०७६, बुधबार ०८:२७
सीता वली ।