विद्यार्थीको समस्या बुझ्न विद्यालयमा उप–प्रमुख

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकाल विद्यार्थीका समस्या बुझ्न विद्यालय जाने गरेकी छन् । बुधवार पनि ढकाल जनसेवा माध्यमिक विद्यालय घुस्रा पुगेर विद्यालय तथा विद्यार्थीहरूका समस्याका बारेमा जानकारी लिएकी छिन् । यसका लागि उनले ‘विद्यालयमा उप–प्रमुख’ कार्यक्रम नै सञ्चालन गरेकी हुन् ।

जनप्रतिधि तथा स्थानीय सरकारका बारेमा जानकारी गराउन ‘कक्षाकोठामा उप–प्रमुख’ कार्यक्रम सुरुवात गरेको ढकालले बताइन् । जनप्रतिनिधि र सरकार भनेपछि फरक खालको बुझाई अहिले पनि अभिभावक विद्यार्थीमा रहेको भन्दै उनले यस्तो खालको बुझाईलाई हटाउन आफू स्वयम् कक्षाकोठामा पुगेको जानकारी दिइन् । कार्यक्रम अन्तर्गत उनले विद्यालयमा पुगेर जनप्रतिनिधि, स्थानीय सरकारका बारेमा विद्यार्थीको बुझाई, स्थानीय सरकारसँग विद्यार्थीका अपेक्षा जस्ता विषयमा छलफल गरेकी थिइन् ।

उप–प्रमुख ढकालले कक्षा १०, ११ र १२ का झण्डै एकसय पचास विद्यार्थीसँग विभिन्न विषयमा छलफल गरेकी थिइन् । यो कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको एक दिन निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग पुग्ने योजना रहेको उप–प्रमुख ढकालले जानकारी दिइन् ।

प्रकाशित मितिः   १० पुष २०७६, बिहीबार ०८:४३