शिक्षामा समर्पित नरेशविक्रम

                                    नरेशविक्रम ढकाल

 

गुर्भाकोट नगरपालिका–२ सुर्खेतमा वि.सं. २०२२ साल भदौ १५ गते जन्मिएका नरेशविक्रम ढकालको जीवनका महत्वपूर्ण तीन दशक शिक्षा क्षेत्रमा बित्यो । बुवा टिकाराम ढकाल र आमा नन्दकली ढकालको कोखबाट घरको माइलो छोराका रूपमा जन्मिएका उनले १७ वर्ष अध्यापन र १४ वर्ष स्रोतव्यक्तिका रूपमा काम गरे ।

विद्यालय शान्ति क्षेत्र घोषणा अभियानलाई तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो पटक सुर्खेतमा सफल पार्नको लागि समेत उनले ठूलो संघर्ष गरे । हाल उनी आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सुर्खेत जिल्ला संयोजक भएर काम गरिरहेका छन् ।

शिक्षकले कक्षा कोठामा प्रवेश गरेपछि बालबालिकाका अनुहारमा आफ्ना छोराछोरी र भाइबहिनीको अनुहार देख्नुपर्छ, तब मात्रै सही शिक्षा दिन सकिन्छ भन्ने सोच बोकेका नरेशविक्रमले आफ्नो पेशागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

म मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे । बुवाआमा कृषि गर्नुहुन्थ्यो । आफूहरूले अध्ययन गर्न नपाए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच उहाँहरूमा थियो । त्यसैले पनि पढ्ने अवसर प्राप्त गरियो । पढेर यही काम वा पेसा गर्नुपर्छ भनेर बुवाआमाले कहिल्यै दवाव दिनुभएन तर धेरै पढ्नुपर्छ र असल व्यक्ति बन्नुपर्छ भनेर उपदेश दिनुहुन्थ्यो । त्यसले पनि मलाई सही बाटोमा हिँड्न प्रेरित ग¥यो । पढाइमा समेत उत्कृष्ट नै थिएँ । असफल भएपनि हार खानुहुँदैन भन्ने सोच राखेरै हिँडे ।

मैले वि.सं. २०४० सालमा एसएलसी पास गरेको हुँ । त्यो बेलामा अहिले पीएचडी गरेको भन्दा एसएलसी पास गरेको ठूलो महत्व थियो । जागिर खोज्न जानु पर्दैनथ्यो । अवसरहरू घरमै आइपुग्थे । मेरो जीवनमा पनि त्यस्तै भयो । श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मालारानी सुर्खेतमा मलाई अध्यापन गराइदिनु प¥र्यो भनेपछि मैले वि.सं. २०४१ सालदेखि अध्यापन सुरु गरेको हुँ । स्थायी भने २०४५ सालमा भएको हुँ ।

अध्यापनकै क्रममा मैले धेरैपटक माध्यमिक तहको प्राध्यापक भएर समेत काम गर्ने मौका पाएँ । १७ वर्ष अध्यापन गराउने मौका पाएँ र १४ वर्ष स्रोतव्यक्ति भएपछि मैले वि.सं. २०७३ सालमा स्वैच्छिक अवकाश लिएको हुँ । हाल आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुर्खेतको जिल्ला संयोजक भएर काम गरिरहेको छु । नेपाल सरकारको कर्मचारी भएर ३१ वर्ष काम गरे पनि विगत चार वर्षदेखि अन्तर्राष्ट्रियस्तरको संस्थासँग जोडिएर काम गर्ने मौका पाएको छु । त्यो पनि सुर्खेत जिल्लामै रहेर । मेरो जीवन शिक्षा क्षेत्रमै सेवा गरेर बिताउने अठोट छ ।

मैले स्रोतव्यक्तिको रूपमा काम गर्दा मध्यपश्चिममै पहिलो पटक विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रम सुर्खेतमा लागू गरेँ । त्यो बेलामा विभिन्न राजनितीक दलहरूले विद्यालय बन्द गराउँदै हिँड्थे । विद्यालयका शिक्षकहरू समेत राजनीतिक दलहरूसँग डराउने अवस्था थियो । मैले विद्यालयमा मेरो फोन नम्बर दिएको थिएँ । केही प¥र्यो भने मलाई सिधै फोन गर्न लगाउनु भन्थेँ । धेरै पटक ज्यान मार्ने धम्की पनि आयो । तर मैले अभियान छोडिन । विद्यालय बारम्बार बन्द हुँदा बालबालिकामा पर्ने मानसिक असर मलाई थाहा थियो । त्यसैले मैले बरु मलाई मार तर विद्यालय शान्ति क्षेत्र हुनुपर्छ भन्ने अडान लिएँ । सफल पनि भयो ।

मैले जतिसम्म नेपाल सरकारको कर्मचारी भएर सेवा गरेँ । कुनैपनि मौखिक वा लिखित आरोप झेल्नु परेन । त्यो मेरो कामप्रतिको पारदर्शीता र इमान्दारिताको फल हो भन्ने लाग्छ । जति वर्ष विद्यालयको प्राध्यापक भएर काम गरेँ । त्यो बेलामा पनि उत्तिकै मायाँ र सहयोग प्राप्त गरें । आफूले अध्यापन गराएका विद्यार्थीहरू लोकसेवा लगायतका थुप्रै राम्रो स्थानमा पुगेका छन् । उनीहरूले गुरूप्रति गर्ने सम्मान देख्दा मेरो पेसाप्रति गर्व लाग्छ ।

शिक्षक पेशा नै यस्तो पेसा हो जसले राज्यका उच्च तहमा बसेका व्यक्तिहरूलाई नै शिक्षा दिएको हुन्छ । त्यसैले मलाई कहिल्यै मेरो शिक्षण पेसाप्रति वितृष्णा भएन । हरेक पेसामा टिक्नको लागि र सम्मान प्राप्त गर्नको लागि आफू अनुशासित हुनु जरुरी छ । अर्को कुरा पेसा अपनाउनको लागि सधँै अरुको भर होइन कि आफ्नो रुचि के मा छ त्यसको निक्र्यौल गर्नुपर्छ र आफै प्रतिस्पर्धा गर्नुपर्दछ ।

शिक्षकले कक्षाकोठामा जब प्रवेश गर्छ, बालबालिकाहरूको अनुहारमा आफ्ना छोराछोरी र भाइबहिनी देख्नुपर्छ । तब शिक्षकले कहिल्यै उनीहरूलाई ठग्न सक्दैन । सेवा गरेवापत तलब लिने कि तलबका लागि सेवा गर्ने भन्ने दुई कुराले सबै पेसाको निर्धारण गर्दछ । पेसा जुनसुकै भए पनि सेवा भावले गर्न सक्यो भने सबैको लागि हितकारी हुन्छ । शिक्षकले अध्यापन गराउने बाहेक अन्य संगठनमा लाग्नु हुन्न भन्ने मेरो धारणा हो । जसको जे काम हो त्यो मात्रै ग¥यो भने सफल भइन्छ ।

म आफू स्वयम् पनि कुनै पनि शिक्षक संगठनहरूमा आवद्ध भइनँ । शिक्षक पेसा आफैमा उच्च तहका व्यक्ति निर्माण गर्ने पेसा हो । शिक्षकले गरेका हरेक क्रियाकलाप नागरिकले सिक्छन् । अनुशासन कायम गर्ने कुरामा शिक्षक सधंै सचेत हुनु जरुरी छ । मैले सेवा गरेवापत राज्यबाट सेवा सुविधा लिएँ तर कहिल्यै तलबका लागि सेवा गरिनँ । सायद त्यसैले पनि होला समाजमा एउटा सम्मानित व्यक्तिको दर्जा पाएको छु । मैले नेपाल सरकार शिक्षा मन्त्रालयबाट राष्ट्रिय पुरस्कार पदक, नगद र प्रमाण–पत्र प्राप्त गरेँ । यो नै मेरो सबैभन्दा खुशीको क्षण हो । पेसामा रहँदा–रहँदै पनि कानुनमा एलएलबी, अङ्ग्रेजी र नेपालीमा स्नातकोत्तर र शिक्षामा पीएचडी गरेँ । त्यो पनि मेरो खुशीको क्षण हो ।

मेरो परिवारले पनि मलाई कहिल्यै पेसामा असहयोग गर्ने काम गर्नुभएन । जीवनसंगिनीले पनि त्यस्तै खालको सहयोग पु¥याइरहिन् । परिवारमा पनि सन्तुष्टिको सास फेरेको छु । जेठो छोरा र बुहारी नेपाल सरकारको अधिकृत छन् । छोरी नायव सुब्बा र कान्छो छोरा ईन्जिनियर सकेका छन् । सात जनाको परीवारमा खुशी छु । मलाई अब एकपटक राजनीतिमा प्रवेश गर्ने मन छ । तर त्यो त्यति सजिलो भने छैन । यदी म राजनीतिमा प्रवेश गरेँ भने काम गर्ने क्रममा भोगेका गलत कुराहरूलाई अन्त्य गरी साँच्चै सेवा भनेको यो हो भन्ने पद्धति बसाल्ने मन छ । यदि राजनीतिमा प्रवेश गर्न सकिएन भनेपनि व्यक्तिगत रूपमै भए पनि समाजमा राम्रो काम गर्ने मन छ ।

प्रकाशित मितिः   ९ पुष २०७६, बुधबार ०९:४२