अधिकृत कुट्ने वडा अध्यक्ष पक्राउ

रुकुम पश्चिम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बुधवार राती केसीमाथि आक्रमण भएको हो । वडा अध्यक्ष विक नेतृत्वको युवाहरूले आक्रमण गर्दा केसीको टाउकोमा ५ वटा टाका लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । कार्यालयको काम सकेर आफ्नो निवासतर्फ जाँदै गर्दा नगरपालिका ९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण भएको उनले बताए ।

वडा अध्यक्ष विकसहित उनका भाइ गोपाल विकलगायतका युवाले आक्रमण गरेको डीएसपी खड्काले जनाए । वडा अध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरे पनि गोपाल फरार भएकाले खोजी भइरहेको बताइएको छ । वडा अध्यक्ष केशरमानको डोजरले काम गरेको पैसा भुक्तानी नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण गरेर प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले जानकारी दिए । पीडित केसीले किटानीसहित प्रहरीमा उजुरी दर्ता गरेका छन् । मुद्दा दर्ता भएसँगै घटनाको विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

घटनाको विषय लिएर नगर उप–प्रमुख गीता नेपालीले विज्ञप्ती जारी गर्दै तत्काल दोषीलाई कारबाहीको माग गरेकी छिन् । दुईरतीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तीमा उल्लेख छ । कर्मचारीले पनि छुट्टै विज्ञप्ती निकालेका छन् । कर्मचारीले वडा नम्बर ३ का अध्यक्षको योजनामा उनका भाइ गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको भन्दै कडा कारबाहीको माग गरेका छन् । दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीवारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तीमार्फत चेतावनी समेत दिइएको छ ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १३:५३