पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य

दश वर्षे रणनीतिक योजना बनाईंदै

सुर्खेत : कर्णाली प्रदेश सरकारले पर्यटन विकासका लागि दीर्घकालीन योजना बनाउने भएको छ । आगामी दश वर्षको बृहत् योजना (रणनीति) बनाएर कार्यान्वयन गर्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयारी थालेको हो । प्रदेश सरकारले पनि पर्यटनलाई प्राथमिकताको क्षेत्र मान्दै आएको छ । कर्णालीको अर्थतन्त्रको विकास र आर्थिक समृद्धिका लागि पर्यटनको भूमिका महŒवपूर्ण हुने भन्दै मन्त्रालयले अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयन गर्ने भएको हो । यसका लागि प्रारम्भिक चरणको तयारी भइसकेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए । उनका अनुसार पर्यटकीय स्थलहरूको पहिचान, पूर्वाधार निर्माणदेखि प्रचार–प्रसारसम्मका विस्तृत योजना बनाइनेछ ।

रणनीतिक गुरुयोजनामा सूचना केन्द्र निर्माणलाई उच्च महत्व दिइएको छ । प्रदेशमा रहेको पर्यटकीय गन्तव्यहरूको विस्तृत जानकारीसहितको सूचना केन्द्र अपरिहार्य हुने मन्त्रालयले जनाएको छ । यसका लागि कर्णालीका चार वटा जिल्लामा पर्यटन सूचना केन्द्र स्थापना गरिने छ । सूचना केन्द्रमा पर्यटकीय स्थलहरूको सबै जानकारीसहित त्यहाँसम्म पुग्न सकिने उपाय र खर्चसहितको सूचना राखिनेछ ।
मन्त्री बुढाका अनुसार प्रदेशका सुर्खेत, हुम्ला, डोल्पा र मुगु जिल्लाहरूमा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने तयारी मन्त्रालयले गरेको छ । उनले सूचना केन्द्रमा पर्यटकहरू गई कुन जिल्लाको कुन पर्यटकीय स्थलमा पुग्न कति समय लाग्छ, पर्यटकीय स्थलको विशेषता के हो, कुन मार्गबाट उक्त पर्यटकीय स्थलमा जाँदा सहज हुन्छ लगायतका सम्पूर्ण सूचना प्रदान गर्ने बताए । ‘प्रदेशका सम्पूर्ण पर्यटकीय क्षेत्रहरूको ‘जीपीएस म्यापिङ्ग’ समेत गर्दैछौं’ उनले भने ‘जसले गर्दा पर्यटनमा प्रविधिसमेत भित्रिनेछ ।’ पर्यटकहरूलाई समेत सहजता होस् भन्नको लागि यो प्रविधि अपनाउने योजना बनाएको उनले बताए ।

भौतिक पूर्वाधार निर्माणतर्फ मन्त्रालयले पदमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । कर्णालीका कैयौं पर्यटकीय गन्तव्यहरूसम्म यातायातको सहज पहुँच छैन । त्यसैले पनि पदमार्ग निर्माणलाई प्राथमिकताका साथ गुरुयोजनामा समावेश गरिने मन्त्री बुढाले बताए । उनका अनुसार प्रदेशका दशवटै जिल्लाका पर्यटकीय स्थलहरूलाई जोड्ने गरी पदमार्ग निर्माणका लागि मन्त्रालयले योजना बनाएको हो । आवश्यक पदमार्ग निर्माणका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम पनि गरिरहेको मन्त्री बुढाले जानकारी दिए । पदमार्गलाई दिगो रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । ‘कुनै सडक सञ्जालले पनि पदमार्गलाई क्षति नपु¥याउने गरी काम गर्दैछौं’ मन्त्री बुढाले भने ‘कर्णाली प्रदेशका दशवटै जिल्लाको सञ्जालको रूपमा पदमार्ग रहनेछ ।’ दिगो विकासको अवधारणालाई समेत अवलम्बन गरी पर्यटन विकासका योजना निर्माणमा लागेको उनले बताए ।

गत वर्ष कर्णाली–रारा पर्यटन वर्ष मनाएको कर्णाली प्रदेश सरकारले यस वर्ष भने नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई समेत भव्यताका साथ मनाउने जनाएको छ । यसका लागि कर्णाली प्रदेश सरकारले पूर्ण तयारी गरेको उनले जानकारी दिए । ‘हामीले भ्रमण वर्ष भव्य रूपमा सम्पन्न गर्नको लागि समिति समेत गठन गरेका छौं’, उनले थपे ‘३१ सदस्यीय समिति र ६ वटा उप–समिति गठन गरेका छौं ।’ उक्त उपसमितिहरू सक्रिय रूपमा पर्यटन वर्ष मनाउनको लागि काममा लागेको मन्त्री बुढाले बताए । सुर्खेतको बुलबुले तालमा (जनवरी १ मा) भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने क्रममा प्रदेश सरकारले निर्माण गेरेको पाँच वर्षे कार्ययोजनासहित दश वर्षे रणनीतिक योजना सार्वजनिक गर्ने समेत मन्त्री बुढाले बताए ।

प्रकाशित मितिः   ३ पुष २०७६, बिहीबार १०:०९