भेरी माविको वार्षिकोत्सव

सुर्खेत : भेरी माध्यमिक विद्यालय बराहताल–२ सुर्खेतले मंगलवार आफ्नो ४८औं वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पुरीको सभापतित्व एवम् कर्णाली प्रदेशसभा सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसरमा वरिष्ठ कलाकार प्रेमदेव गिरीलाई अभिनन्दन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरबहादुर विक, पूर्व शिक्षकहरू हरिबहादुर खत्री, कौशिला केसी, फूलमाया भण्डारी, चित्रबहादुर बुढा र चन्द्राकुमारी भट्टराईलाई सम्मान गरिएको विद्यालयका शिक्षक छविकुमारी कँडेलले जानकारी दिइन् । उनका अनुसार पूर्व शिक्षक चन्द्राकुमार भट्टराईले आफ्नो आमाको सम्झनामा ५१ हजार रूपैयाँको अक्षयकोष समेत स्थापना गरेकी छिन् । विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढाले प्रगति प्रतिवेदनसहित ५५ लाख १० हजार बराबरको आय–व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत लगायतको पनि सहभागिता रहेको थियो । उनीहरूले भूरीगाउँ–तेलपानी सडक निर्माण, भेरीमा पक्की पुल निर्माणका साथै विद्यालयको भौतिक पूर्वाधार विकासमा आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:१६