‘प्रारम्भिक बाल विकासको रणनीति आवश्यक’
सुर्खेत : प्रारम्भिक बाल विकासको रणनीति आवश्यक भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शुक्रवार सेभ द चिल्ड्रेन तथा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेशमा सर्वव्यापी स्वास्थ्य पहुँच तथा प्रारम्भिक बाल विकास सम्बन्धी जिम्मेवारी वहनका लागि प्रादेशिक र स्थानीय सरकारको तयारी विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य तथा प्रारम्भिक बाल विकास दबाब समिति कर्णाली प्रदेशकी संयोजक सीता नेपालीले समेत यो ओझेलमा परेको विषय भएको बताइन् । उनले गर्भमा रहेदेखि आठ वर्षसम्मका सबै बालबालिकाहरू प्रारम्भिक बाल विकास कार्यक्रमभित्र समेटिनुपर्नेमा जोड दिइन् । त्यसको लागि कर्णाली प्रदेशमा समेत दबाब समूह गठन गरी रणनीति निर्माणमा लागेको नेपालीले जानकारी दिइन् । ‘तिनै तहमा प्रारम्भिक बालविकास सम्बन्धी संयन्त्र निर्माण गरिनुपर्छ’ उनले भनिन् ‘आजका बालबालिकाहरूलाई प्रारम्भिक बालविकाससँग जोडियो भने भोलि तिनै दक्ष जनशक्ति बन्छन् ।’ यसको लागि कानुन निर्माण मात्रै नभएर नीति र निर्देशिका समेत निर्माण गर्नुपर्ने नेपालीले बताइन् ।
सेभ द चिल्ड्रेनकी निर्देशक धन भुषालले कर्णाली प्रदेश स्वास्थ्य, शिक्षा र पोषण लगायतका सूचाङ्कमा पछाडि रहेको बताइन् । उनले कर्णालीले प्रारम्भिक बालविकास सम्बन्धी रणनीति निर्माण गर्नुपर्ने बताइन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख विर्षबहादुर शाहीले सर्वव्यापी स्वास्थ्यको विषयमा जानकारी गराएका थिए । उनले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताए । जसका लागि कर्णालीमा भौगोलिक कठिनाइ, दक्ष जनशक्तिको अभाव र औषधिको समेत अभाव चुनौती रहेको बताए ।
प्रकाशित मितिः २८ मंसिर २०७६, शनिबार १०:००
साझा बिसौनी ।