बावियाचौर र बड्डिचौरमा वातावरणको साधारणसभा
सुर्खेत : वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–८, सुर्खेतको सत्रौं वार्षिक साधारणसभा आइतवार बावियाचौर र बड्डिचौरमा एकसाथ सम्पन्न भएका छन् । यसैवर्षदेखि संस्थाको वार्षिक साधारणसभालाई शाखागत रूपमा सञ्चालन गर्ने निर्णय भए बमोजिम एकै दिन दुई वटा शाखामा साधारणसभा गरिएको हो ।
यस अघि रामघाट, राकम, सल्लीबजार, रामपुर, मेहेलकुना, यरीचोक, दुल्लू, डुङ्गेश्वर र मेहेली–धरमपोखरा शाखामा साधारणसभा सम्पन्न भइसकेको संस्थाले जनाएको छ । अब थप दुईवटा शाखामा बाँकी छ । १३ वटा शाखामा विभिन्न मितिमा वार्षिक साधारणसभा सम्पन्न भइसकेपछि आगामी पुस १२ गते वीरेन्द्रनगरमा अन्तिम निर्णय प्रमाणीकरण भेलामार्फत सम्पूर्ण साधारणसभाका निर्णयहरू पारित हुने संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।
साधारणसभाले संस्थाको चालु आर्थिक वर्ष २०७६÷०७७ को सात अर्ब ९३ करोड १७ लाख ७० हजार रूपैयाँ बराबरको संशोधित र आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि दश अर्ब ५८ करोड ४१ लाख २५ हजार रूपैयाँको प्रस्तावित बजेटलाई समेत स्वीकृत गरेको छ । बावियाचौरमा सम्पन्न भएको साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले राज्यको तीनखम्बे अर्थ नीतिको एक महŒवपूर्ण खम्बाको रूपमा रहेको सहकारीहरूले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यसमा पनि वातावरणले यस क्षेत्रमा आफ्नो जिम्मेवारी सफलताका साथ पूरा गरिरहेको उनको भनाइ थियो ।त्यस्तै बड्डिचौरमा सम्पन्न भएको कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले राज्यको वित्तीय पहुँच नपुगेको दुर्गम तथा ग्रामीण क्षेत्रमा आफ्नो क्रियाकलापलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सफल भएको बताउँदै आगामी दिनमा कर्णाली प्रदेशका अझ दुर्गम बस्तीहरूमा पुग्न सुझाव दिए । बावियाचौरमा संस्थाका सञ्चालक समिति सदस्य अनन्तप्रसाद पौडेल र बड्डिचौरमा संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएका थिए ।
प्रकाशित मितिः ३० मंसिर २०७६, सोमबार ०९:२६
साझा बिसौनी ।