चितुवाको छालासहित एक जना पक्राउ


दैलेख : दैलेखमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४, तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए । शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । वलीका अनुसार शाहीलाई जिल्ला प्रहरी कार्यालय, दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट गएको संयुक्त टोलीले चितुवाको छालासहित पक्राउ गरेको हो । शाहीको घरबाट ७ फिट ८ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ भएको पाटे चितुवाको छालासहित पक्राउ गरेको वलीले बताए । उनका अनुसार शाहीको घरबाट दुई किलो ३० ग्राम तौल रहेका ९५ वटा चितुवाको हड्डी पनि बरामद गरिएको छ । शाहीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दैलेखमा पठाइएको छ ।