सुर्खेत शाखा मध्यपश्चिमकै उत्कृष्ट
साझा बिसौनी संवाददाता
सुर्खे
त, १ साउन ।
राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखा मध्य तथा सुदूरपश्चिमकै उत्कृष्ट हुन सफल भएको छ । सीमित जनशक्ति र धेरै कार्यभारका बाबजुत पनि मध्य तथा सुदूरपश्चिमका शाखाहरू मध्ये नाफा, निक्षेप र कर्जा प्रवाहमा सुर्खेत शाखा प्रथम हुन सफल भएको हो ।
शाखा सुर्खेतले आर्थिक वर्ष २०७२/०७३ मा १० करोड ४७ लाख चार हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । शाखाले दुई अर्ब ११ करोड ५९ लाख ४८ हजार रूपैयाँ निक्षेप सङ्कलन गरेको बताएको छ । यस्तै, बैंकले एक अर्ब २६ करोड नौ लाख ६५ हजार कर्जा प्रवाह गरी उल्लेखित नाफा आर्जन गर्न सफल भएको शाखा प्रबन्धक होताराम योगीले जानकारी दिए । व्यापारिक कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक कर्जा, शैक्षिक कर्जा, कृषि, महालक्ष्मी घर कर्जा, गाडी र सुन कर्जा लगायत सेवा प्रदान गरेको योगीले बताए । शाखाले आधुनिक बैंकिङ्ग सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, एटीएम सेवा प्रवाह गरिरहेको छ । ग्राहकहरूले सहज रूपमा बैंकिङ्ग सेवा प्राप्त गरेको शाखाका आईटी फोकल चिरञ्जीवि गिरीले बताए । साथै शाखाले ग्राहक पहिचान कार्यक्रम अन्तर्गत २०७३ सालभन्दा अगाडि खोलिएका खातावाला ग्राहकहरूको पूर्ण विवरण प्राप्त गर्नका लागि अनिवार्य रूपमा केवाइसी अद्यावधिक गर्ने काम गरिरहेको जानकारी गराएको छ ।
साझा बिसौनी संवाददाता ।