विद्यार्थीलाई पुष्पगुच्छाले स्वागत, चार सय विद्यार्थी अनुपस्थित

बिसौनी संवाददाता
सुर्खेत, १८ चैत ।
एसएलसी परीक्षाको पहिलो 
दिन । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा । नयाँ स्थानमा परीक्षा केन्द्र । सबैले परीक्षामा कडाइ हुन्छ भन्ने सुनाएकाले पनि उनीहरूमा डर र त्रास थियो । कमजोर मनोबलसहित परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरू जब केन्द्रको गेटमा पुगे, तब उनीहरू दङ्ग परे । कारण उनीहरूले परीक्षा केन्द्रमा डरको साटो पुष्पगुच्छा, त्रासको साटो अविर र कडा व्यवहारको साटोमा मुस्कानसहित परीक्षामा सफलताको शुभकामना पाए । 
परीक्षाको पहिलो दिन सुर्खेतमा परीक्षार्थीहरूलाई पुष्पगुच्छा र अविरले स्वागत गरिएको छ । जिल्ला शिक्षा कार्यालयले भयरहित वातावणमा परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिएपछि जिल्लाका सबै परीक्षा केन्द्रले पुष्पगुच्छा र अविरले विद्यार्थीलाई स्वागत गरेका हुन् । बिहीवार बिहानैदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकहरू विद्यार्थीको स्वागतका लागि मूलगेटमा नै पर्खेर बसिरहेका 
थिए । विद्यार्थीलाई परीक्षा हलमा त्रासको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सबै केन्द्रमा मुस्कानसहित हलमा प्रवेश गराइएको थियो । त्यस्तै अधिकांश केन्द्रमा सबै विद्यार्थीहरूलाई परीक्षामा सफलताको शुभकामनासहित केन्द्राध्यक्षहरूले पुष्पगुच्छा र अविरले स्वागत गरेका थिए । 
डर र त्राससहित परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरूले जब केन्द्रमा पुष्पगुच्छा, अविर र मुस्कानसहित सफलताको शुभकामना पाए, तब उनीहरू दङ्ग परेका थिए । यसअघि परीक्षाको क्रममा कडा चेकजाँच, गाली र हप्की भोग्दै आएका विद्यार्थीहरू एसएलसी परीक्षामा आउँदा पहिलो पटक अविर र पुष्पगुच्छा पाएपछि दङ्ग परेका हुन् । परीक्षा केन्द्रमा गरिएको स्वागत र मुस्कानले उनीहरूमा हौसला समेत बढाएको थियो । वीरेन्द्रनगरमा रहेको उच्च मावि ईत्राम परीक्षा केन्द्रका केन्द्राध्यक्ष गेहेन्द्रप्रसाद दहाल मूलगेटमा नै फूल र अविर लिएर विद्यार्थीको स्वागतमा बसेका थिए । उनले सबै परीक्षार्थीहरूलाई फूल र अविरले स्वागत मात्र गरेनन्, मुस्कानसहित नमस्कार गर्दै परीक्षामा सफलताको शुभकामना समेत प्रदान गरिरहेका थिए । उनको स्वागतबाट परीक्षार्थीहरूले निकटता र आत्मियताको अनुभूति गरेको प्रष्ट देखिन्थ्यो । केन्द्राध्यक्ष दहालले भने, ‘विद्यार्थीलाई परीक्षा हलमा कुनै पनि डर र त्रास नहोस् भनेर हामीले यसरी स्वागत गरेका हौं, यसले उनीहरूमा थप हौसला पनि बढेको छ ।’ 
बिहीवार पहिलो दिन जिल्लाका सबै केन्द्रमा यसरी नै स्वागत गरिएको थियो । यस्तै परीक्षा केन्द्रमा स्वागत ब्यानर समेत टाँगिएका थिए । जिल्ला शिक्षा अधिकारी दीपा हमालले परीक्षालाई भयरहित र मर्यादित बनाउनका लागि मुस्कानसहित स्वागत गरिएको
बताइन् । केन्द्रमा गरिएको स्वागतले विद्यार्थीको मनोबल बढेको र यसले उनीहरूको लेखनमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ । परीक्षा केन्द्रमा बालिकामैत्री वातावरण समेत निर्माण गरिएको थियो । केन्द्रमा सेनेटरी प्याड, छात्राको लागि छुट्टै शौचालय, प्राथमिक उपचारका लागि औषधिको समेत व्यवस्था गरिएको छ ।
सुर्खेतमा चार सय विद्यार्थी परीक्षामा सहभागी भएनन् । बिहीवार सम्पन्न भएको अनिवार्य अंग्रेजी विषयको परीक्षामा नियमित र आंशिकतर्फका गरी चार सय ९ जना परीक्षार्थीहरू अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार नियमिततर्फका ८९ र आंशिकतर्फका तीन सय २० जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका हुन् । नियमिततर्फ ४२ छात्र र ४७ जना छात्रा अनुपस्थित भएको कार्यालयले जनाएको छ । यस्तै आंशिकतर्फ एक सय ७४ छात्र र एक सय ४६ छात्रा परीक्षामा सहभागि नभएको शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार यस वर्षको एसएलसी परीक्षाको लागि जिल्लाबाट नियमित र आंशिकतर्फ गरी ११ हजार २७ जनाले परीक्षाका लागि आवेदन दिएका थिए । जिल्लामा पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा कार्यालयले जनाएको छ । 
कार्यालयका खरिदार भगिराम शर्माका अनुसार दुई जना विद्यार्थीले कारागारबाटै एसएलसी परीक्षा दिएका छन् । सरस्वती मावि सिरूपाटाकी तुल्सी पुलामी र चिल्ड्रेन प्याराडाइज बोर्डिङ्ग स्कुलका राजकुमार रोकायले कारागारबाटै परीक्षा दिएको शर्माले जानकारी दिए । उनका अनुसार दुवैजना आंशिकतर्फका हुन् । पहिलो दिनका परीक्षा अपेक्षा गरे भन्दा मर्यादित र शान्तिपूर्ण भएको कार्यालयले जनाएको छ । परीक्षालाई मर्यादित र भयरहित बनाउन भन्दै जिल्लाका सबै परीक्षा केन्द्रमा विद्यार्थीहरूलाई मुस्कानसहित स्वागत गरिएको थियो । कतिपय केन्द्रमा विद्यार्थीलाई पुष्पगुच्छा र अविरले समेत स्वागत गरिएको छ । यस्तै हरेक केन्द्रहरू बालिकामैत्री बनाइएको छ । 
प्रकाशित मितिः   १९ चैत्र २०७२, शुक्रबार ०६:५६