नियम विपरित पसल सञ्चालन

सुर्खेत : पश्चिम सुर्खेतमा नियम विपरित पसलहरू सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा गरिएको अनुगमनमा १२ वटा पसलहरू नियम विपरित सञ्चालन भएको पाइएको हो । पञ्चपुरी नगरपालिका–२ सालकोट र चौकुने गाउँपालिका–८ विशालबजारमा गरिएको अनुगमनमा ८ वटा नियम विपरित सञ्चालन भएका पसलहरूलाई सात दिनभित्र जिल्ला प्रशासन कार्यालय उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी उत्तम शर्माले जानकारी दिए ।

यस्तै चार वटा कुनै पनि कागजात र प्रक्रिया नपुगेका पसलहरूलाई तीन दिनभित्र आवश्यक प्रक्रिया पु¥याई सञ्चालनमा ल्याउन निर्देशन दिइएको उनले बताए । एग्रोभेटको प्रमाणपत्र लिएर भेटेनरीको सामान राखिएको वीरेन्द्र एग्रोभेट तथा खाद्यखुद्रा पसलले राखेका भेटेनरी सामाग्रीहरू समेत जफत गरिएका छन् । अनुगमनका क्रममा दर्ता नगरेका, ढुङ्गाका ढक राखिएका तीन वटा तराजु तथा एक वटा सुनचाँदी पसलको तराजु समेत जफत गरिएको शर्माले जानकारी दिए । ‘चौकुनेको गुटु र पञ्चपुरीको सालकोटमा गरी जम्मा १२ वटा पसल अनुगमन गरियो’ शर्माले भने ‘जहाँ दर्ता नगरिएका, साइनबोर्ड नराखिएका, ढक तराजु समेत ढुङ्गाको प्रयोग गरिएको पाइयो ।’ खाद्य र अखाद्य वस्तुहरू एउटै ठाउँमा राखेर बिक्री वितरण गरेको समेत पाइएको शर्माले बताए ।

उनका अनुसार अहिले पहिलो चरणमा अनुगमन गरी एक हप्ताभित्र सबै प्रक्रिया पूरा गर्न निर्देशन गरिएको छ । त्यसपछि पनि अटेर गरी पसलहरू सञ्चालन गरे कानुन बमोजिम अगाडि बढ्ने शर्माको भनाइ छ । सुनचाँदी पसल, खुद्रा खाद्य पसल, इलेक्ट्रोनिक्स र फेन्सी पसलमा अनुगमन गर्दा म्याद नाघेका सामग्री समेत भेटिएका थिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापा, गुणस्तर तथा नापतौल कार्यालय सहायक निरीक्षक टोपेन्द्र विक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकी अधिकृत रिमाकुमारी कँडेल लगायतकोउपस्थितिमा अनुगमन गरिएको हो ।

प्रकाशित मितिः   २० मंसिर २०७६, शुक्रबार १०:०१