विमानस्थलको स्तरोन्नति

गुरुयोजना अनुसार निर्माण गरेको भए सुर्खेत विमानस्थलमा अहिले देखिएको समस्या नै आउने थिएन । पूर्व–पश्चिम धावनमार्ग बनाउनुपर्ने गुरुयोजना विपरित उत्तर–दक्षिण बनाउँदा समस्या निम्तिएको छ । अहिलेको धावन मार्ग साँघुरो छ । जसले गर्दा ठूला जहाज अवरण र उडान गर्न सम्भव छैन । तर सुर्खेतमा ठूला जहाजहरुको सञ्चालन अनिवार्य आवश्यकता भइसकेको छ । त्यसैले यतिबेला विमानस्थल विस्तार गर्न पनि समस्या र नगर्दा पनि समस्या हुने भएको छ ।

सुर्खेत विमानस्थलको सबैभन्दा पहिलो चुनौती नै यसको साँघुरो धावनमार्ग हो । सुरुवातमै पूर्व–पश्चिम बनाउनुपर्ने गुरुयोजनाविपरित बनाइएको धावनमार्ग उत्तर–दक्षिण बनाइएको छ । विमानस्थल विस्तार गर्दा अब कि उत्तरतर्फ बढाउनुपर्छ कि दक्षिणतर्फ । तत्काल यो संरचनालाई पुनर्निर्माण गरेर पूर्व–पश्चिम बनाउन सम्भव छैन । प्राविधि अध्ययन अनुसार उत्तरतर्फ केही दुरी बढाउन सकिन्छ । तर त्यसका लागि पनि सजिलो भने छैन । नजिकै विद्यालय छ । यसअघि पनि अधिग्रहणमा परेको बस्ती छ । त्यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ । फेरी जग्गा अधिग्रहण गरेर विमानस्थल विस्तार गर्नु कम चुनौतीपूर्ण छैन ।

त्यसो त सुर्खेत विमानस्थलका लागि धावनमार्ग मात्रै चुनौती होइन । अन्य थुप्रै चुनौती पनि छन् । नागरिक उड्ययन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीका अनुसार उत्तर–दक्षिण रन–वे विस्तारले मात्रै समस्या समाधान हुँदैन । त्यसो गर्दा पनि ठूला विमान उडान गर्न समस्या हुने उनको भनाइ छ । ठूला विमान आए पनि कति भारी बोकेर आउँछ भन्ने कुरालाई सबैले ध्यान दिनुपर्ने उनले बताए । विमानस्थल विस्तार गर्नुमात्रै समस्याको समाधान नभएको पन्थीको भनाइ छ । धावनमार्ग साँघुरो हुनु त समस्या छँदैछ सँग–सँगै विमानस्थलका पर्याप्त संरचना नहुनु र उडान प्रक्रियाका लागि आवश्यक प्रविधिको अभाव समेत विमानस्थलका समस्या हुन् । विमानस्थल नजिकै रहेको बधशाला अर्को समस्या हो । नजिकै बधशाला हुँदा चराहरु धेरै आउँछन् । चराहरुले उडान प्रभावित गर्दै आएका छन् । यस्ता समस्यामा समाधान पनि अपरिहार्य छ ।

विमानस्थल विकासको एक महङ्खवपूर्ण पूर्वाधार हो । यसको प्रत्यक्ष सरोकार पर्यटन उद्योगसँग पनि जोडिएको हुन्छ । कर्णालीजस्तो भौगोलिक रुपमा विकट प्रदेशमा पर्यटकहरुका लागि सहज यातायातको लागि हवाई सेवा नै प्रभावकारी हुनसक्दछ । त्यसैले पनि सुर्खेत विमानस्थल सँगसँगै कर्णाली प्रदेशका सबै विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नती र सुरक्षित उडानको व्यवस्थापन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । त्यसो हुन सकेको खण्डमा कर्णालीको समृद्धिको सपना पूरा गर्न पनि यसले सघाउनेछ ।