नेपालमा व्यवसायको स्थितिः सुरु गर्नै मुस्किल

                          श्यामप्रसाद भण्डारी

सहज व्यावसायिक वातावरण भन्नाले व्यवसाय गर्न सहज वातावरण भन्ने बुझिन्छ । विश्व बैंकले विश्वका एक सय ९० वटा मुलुकको अर्थतन्त्रमा आधारित भएर त्यस अर्थतन्त्रमा व्यवसाय गर्न कत्तिको सहज छ भनेर अध्ययन गर्छ । व्यावसायिक वातावरणको अध्ययन विश्व बैंकले सन् २००२ बाट सुरु गरेको हो । व्यावसायिक वातावरणको अध्ययनले कुनै पनि अर्थतन्त्रको त्यस अर्थतन्त्रका साना तथा मध्यम तहका कम्पनीहरूको मापन गर्दछ । यस रिपोर्टले अर्थतन्त्रका व्यावसायिक वातावरणको परिस्थितिलाई पनि समावेश गर्दछ । आफ्नो अनुसन्धानमा संख्यात्मक तथ्यका आधारमा व्यावसायिक वातावरणको परिस्थिति झल्काउँदछ ।

उक्त अध्ययनको २०२० को संस्करण प्रकाशनमा आइसकेको छ । उक्त अध्ययनभित्र व्यवसाय सुरुवात प्रक्रिया, निर्माण अनुमति प्रक्रिया, विद्युत उपलब्धता, सम्पत्ति दर्ता, कर्जा उपलब्धता, अल्पमतमा परेका लगानीकर्ताको सुरक्षा, कर भुक्तानी प्रक्रिया, सीमापार व्यापार, करार सम्झौता लागू गर्ने र व्यवसाय टाट पल्टिए पनि समस्या समाधान गर्नेजस्ता सूचकमा अनुसन्धान गरिन्छ । त्यससँगै कर्मचारीको कार्यविशेषता, व्यवसाय सञ्चालनमा रहने सहजता जस्ता विषयको पनि विश्लेषण गरिन्छ ।

विश्व बैंकको सहज व्यावसायिक वातावरण सम्बन्धी पहिलो अध्ययन सन् २००३ मा पाँच वटा सूचकको आधारमा एक सय ३३ वटा अर्थतन्त्रमा गरिएको थियो । हाल सन् २०२० मा भने ११ वटा सूचक अन्तर्गत अनुसन्धान गरिएको छ, तर नेपालको सन्दर्भमा १० वटा सूचकको अनुसन्धान गरिएको छ । यो अध्ययनले सरकार र सम्बन्धित सरोकारवालाई नीति निर्माणको क्रममा तथ्यांकको उपयोगको लागि सहजता प्रदान गर्दछ । सन् २०२० को लागि विश्व बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार नेपालले सोह्रौं स्थान माथि उक्लिएको छ । सन् २०१९ मा गरिएको अध्ययनमा नेपाल ५९.६ अंक प्राप्त गर्दै एक सय १०औं स्थानमा थियो भने हालको प्रतिवेदनमा नेपाल कुल ६३.२ अंक प्राप्त गर्दै ९४आंै स्थानमा रहेको छ । यस प्रतिवेदनले के देखाउँछ भने नेपालमा यो एक वर्षमा व्यवसाय गर्नका लागि आवश्यक वातावरणमा सुधार भएको छ । दुई महिनाअघि विश्व बंैकले प्रकाशन गरेको प्रतिवेदन अनुसार व्यावसायिक वातावरण सुधार गर्ने उत्कृष्ट २० वटा मुलुकको सूचीमा भने नेपाल पर्न सकेन् । तर यो भन्दै गर्दा नेपाल सोह्रौं स्थानमाथि जानुलाई निरपेक्ष रूपमा विश्लेषण गर्न सकिदैन । नेपालमा विगतमा देखिएका व्यावसायिक वातावरणका झन्झटिला प्रक्रियाहरूलाई सापेक्ष रूपमा विश्लेषण गर्न मिल्दैन भन्ने पनि होइन तर सन् २०२० मा लिएको प्रगति भने निरपेक्ष चाहिँ मान्न सकिदैन ।

धेरै मुलुकले त्यति ठूलो सुधार गर्न नसकेको अवस्था र नेपाल सन् २०२० को बरियतामामाथि उक्लिनु सकारात्मक पक्ष नै हो तर दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान र म्यानमारजस्ता देशहरू सुधार गर्ने २०औं मुलुकमा पर्नु र नेपालले अपेक्षाकृत सुधार हुन नसकेको विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ । अर्थतन्त्रमा भएका केही महŒवपूर्ण सूचकमा भएका केही सुधारले नेपाललाई पहिलो पटक एक सय देशको सूचीमा समावेश भएको छ । दश सूचकमध्ये ऋण प्राप्ती, अन्र्तदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा र समस्याको कानुनी समाधानमा नेपालको अवस्था राम्रो छ । नेपाल ऋण प्राप्तीमा नेपाल ३७औं स्थानमा, अन्तरदेशीय व्यापारमा ६०औं स्थानमा, साना लगानीकर्ताको सुरक्षामा ६९औं स्थान र समस्याको कानुनी समाधानमा ८७औं स्थानमा रहेको छ । यी सूचकहरू नेपालको लागि सकारात्मक सुचक हुन् ।

नेपालमा व्यवसायको सुरुवात

व्यवसाय सुरुवात गर्ने सूचकमा भने नेपाल एक सय ३५औं स्थानमा छ । विश्व बैंकको प्रतिवेदन अनुसार नेपालमा व्यवसाय सुरुवात गर्न औषतमा २२.५ दिन खर्चिनुपर्छ भने सबैभन्दा कम न्यूजिल्याण्डमा आधा दिन मात्र खर्चिए व्यवसायको दर्ता हुन्छ । नेपालमा व्यवसाय स्थापना गर्न लाग्ने आठ चरणहरू पार गर्नुपर्छ तर विश्वमा सबैभन्दा कम न्यूजिल्यान्डमा अधिकतम एक चरण मात्र पूरा गर्नुपर्छ ।

पहिलो चरणमा प्रस्तावित कम्पनीको नामको विशिष्टता प्रमाणित गर्दै अनलाइन रिर्जभ गर्ने जसका लागि एजेन्सी कम्पनी रजिस्ट्रारको कार्यालयमा शून्य लागतमा हुन्छ । दोस्रो चरणमा प्रमाणीकरण गर्न (ज्ञापन पत्र) जसमा एजेन्सी, वकिल, सीए र कानुन व्यवसायी हुन्छन् जसमा एक दिन समय लाग्छ जसको लागत एक हजार हुन्छ । तेस्रो चरणमा दर्ता फारममा राख्न टिकट किन्ने जसको लागि हुलाक कार्यालय जानुपर्छ । समय भने एक दिन र लागत पाँच रूपैयाँ लाग्छ । चौंथो चरणमा कम्पनी रजिस्ट्रारको कार्यालयमा रजिष्ट्रर गर्नुपर्दछ । जसको एजेन्सी कम्पनी रजिस्ट्रारको कार्यालय हो र समय एक हप्ता तथा नौं हजार पाँच सय लागत लाग्दछ । पाँचौ चरणमा कम्पनीको तर्फबाट पेस गर्नका लागि रिपोर्टहरू र रेकर्डहरू यसको प्रयोग गरिने व्यावसायिक पत्रका लागि बनाइन्छ, समय एक दिन र लागत दुई सय ७५ रूपैयाँ लाग्दछ । छैठौैं चरणमा स्थानीय शासन अध्यादेश २०७४ अनुसार स्थानीय वडा कार्यालयमा दर्ता गर्ने र व्यापार दर्ता कर तिर्नुपर्छ । यसको लागि लागत दुई हजार र समय औषतमा २ दिन लाग्छ । त्यस्तै सातौं चरणमा प्यान र भ्याटको लागि दर्ता गर्नुपर्छ । आयकर ऐन २०५८ को धारा ७८ अनुसार आन्तरिक राजस्व कार्यालयमा गई शून्य लागतमा एक दिनमा उक्त काम सकिन्छ । आठौं चरणमा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा भर्ना गर्ने श्रम ऐन अनुसार गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको कार्यालयमा गई एक दिनमा शून्य लागतमा उक्त काम सम्पन्न हुन्छ ।

विश्व बैंकको प्रतिवेदनले नेपालमा अझै पनि व्यावसायिक वातावरणमा केही मूलभूत चुनौतीहरू रहेको देखाएको छ । नेपालमा व्यवसाय सुरुवात गर्ने प्रक्रिया निकै चुनौतीपूर्ण रहेको छ । औषतमा व्यवसाय सुरुवात गर्न २२.५ दिन र प्रतिव्यक्ति आयको २०.२ प्रतिशत लागत लाग्दछ । सम्पत्ति दर्ता र कर भुक्तानी प्रक्रियामा अत्यन्तै धेरै झन्झट र धेरै समय एवम् उच्च लागत लाग्ने अवस्थामा सुधार हुन सकेको छैन । विश्व बैंकको सूचकमा नपरेका तर व्यावसायिक वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने क्षेत्र वैदेशिक लगानी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, बजारको आकार, शान्ति सुरक्षा र भौतिक पूर्वाधारजस्ता विषय पनि तीव्र रूपमा नेपालको अगाडि प्रमुख चुनौतीको रूपमा देखापरेका छन् । खासगरी नेपालले व्यवसाय सुरुवात गर्न सम्पत्ति दर्ता गर्ने र कर भुक्तानी गर्ने प्रक्रियामा ठोस सुधार गर्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा कार्यक्रममा तीव्र सुधार, बैंकिङ्ग पहुँचमा वृद्धि, विद्युत आपूर्ति र विद्युतीय कारोबारमा फड्को मारिरहेको नेपाल आगामी वर्षमा अझ धेरै स्थान माथि उक्लिन सक्ने सम्भावना देखिन्छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७६, मंगलवार ११:२९