उचित पुनस्थापनाको माग

सुर्खेत : भेरी–बबई बहुउद्देश्यीयआयोजना प्रभावित क्षेत्रका नागरिकको अगुवाइ गर्दै जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन–पत्र बुझाएका छन् । प्रभावित क्षेत्रका तीनवटै स्थानीय तहका प्रतिनिधिहरूले बुधवार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्पmत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

प्रभावित क्षेत्रका नागरिकहरूलाई उचित प्रतिस्थापन गरिनुपर्ने, सडक, सिँचाइको उचित व्यवस्थापन गरिनुपर्ने, आयोजना सम्पन्न भएपश्चात प्राप्त हुने प्रतिफलको ५० प्रतिशत रकम आयोजना प्रभावित क्षेत्रको विकासमा खर्च गरिनुपर्ने लगायतका मागहरू राख्दै ज्ञापनपत्र बुझाइएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत गएको मूल्यांकन टोलीबाट क्षतिपूर्तिका लागि सिफारिसमा गम्भीर त्रुटी भएको र पुनः क्षतिपूर्ति मूल्यांकनका लागि व्यवस्थापन गरीदिन समेत ज्ञापन–पत्रमा आग्रह गरिएको छ ।

ज्ञापन–पत्र हस्तान्तरण समारोहमा बोल्दै भेरीगंगा नगरपालिकाका प्रमुख तथा भेरी बबई डाइभर्सन जनहित समितिका संयोजक भुपेन्द्रबहादुर चन्दले भेरी बबई डाइभर्सन आयोजना प्रमुखले आफूहरूलाई बारम्बार बेवास्ता गरेको बताए । उनले मुआब्जा सूचीमा नाम परेकालाई समेत आनाकानी गरेर मुआब्जा वितरणमा लापरवाही गरेको आरोप समेत लगाए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले आयोजना प्रभावितका लागि आफूहरू निकै चिन्तित भएको बताए । प्रभावितहरूलाई उचित व्यवस्थापन गर्नको लागि प्रयास समेत गर्ने खड्काले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १२ मंसिर २०७६, बिहीबार ०९:४६