नारकीय जीवनबाट उन्मुक्ति

हरेक दिनको यातनाविरुद्ध जब सन्चुमायाले कदम चालिन् तब उनको जीवनमा उमङ्ग फर्कियो

सीता वली,
सुर्खेत : सन्चुमाया चौधरीले भर्खर एसएलसी उत्तीर्ण गरेकी थिइन्, वीरेन्द्रनगरकै एक युवकसँग उनको भेट भयो । नेपाल सेनामा जागिरे युवकसँग निकटता बढ्दै गएपछि उनीहरूले वि.सं. २०७२ सालमा भागेर विवाह गरे ।

विवाहपछिका केही दिन त रमाइलैसँग बिते । जागिरे श्रीमान् घरदेखि टाढा थिए । धेरै नभए पनि कहिलेकाहीं श्रीमान्को फोन आउँथ्यो, कुरा हुन्थ्यो । थोरै भए पनि घर खर्च दिन्थें । अनि मदिरा पिएको बेलामा गाली गरे पनि श्रीमान्को व्यवहारलाई उनले माया नै सम्झिइन् । जीवनको नयाँ गारेटो उनलाई सफा लाग्थ्यो, भविष्यप्रतिको कुनै चिन्ता थिएन । तर जब विवाहको सात महिना पुग्यो सन्चुमायाले सोच्दै नसोचेको कुरा भयो । उनका श्रीमान्ले दोस्रो श्रीमती भिœयाए ।

आफू हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गर्दा उनलाई हुनसम्म पीडा भएकै हो । मन पोलेकै हो, आँशु खसेको पनि हो । तर पनि उनले त्यसविरुद्ध कुनै कदम उठाइनन् । बरु उनै श्रीमान्सँग मिलेरै बस्ने निधो गरिन् । सन्चु त चाहन्थिन् मिलेरै बसौँ तर मिल्नु उनको वसको कुरा मात्रै थिएन । श्रीमान् र परिवारले पनि चाहनुपथ्र्यो । दोस्रो विवाहपछि सन्चुमायामाथि पीडा थपियो । उनको सोझोपनको फाइदा श्रीमान्ले मात्रै होइन् दोस्रो श्रीमतीले समेत उठाउन थालिन् । पहिले एक जनाको यातना सहनुपथ्र्यो, अब दुवैजना मिलेर कुटपिट गर्न थाले । दिनहुँ यातना सहनुपथ्र्यो । त्यतिमात्रै होइन दोस्रो श्रीमतीले उनको यौनाङ्गमा अगुल्टो नै झोसिदिइन् । ‘सौताले मेरो योनीमा आगोको अगुल्टो समेत हालिन्’ उनले भक्कानिँदै भनिन् ‘धेरै पटक खानामा विष हाल्ने प्रयास पनि उनीहरूले गरे ।’ दुवैजना मिलेर आफ्नो हात समेत भाँचिदिएको बताउँछिन्, सन्चु ।
कुटपिट र गाली त उनले सहेकै थिइन् । उनले जति सहिन् यातना त्यति नै बढ्दै गयो । असैह्य भएपछि कैयौं पटक उनले आत्महत्याको प्रयास समेत नगरेकी होइनन् । ‘सुत्केरी हुँदा खाना समेत दिँदैनथे’, उनले थपिन् ‘धेरै पटक आत्महत्या गर्ने प्रयास गरे पनि छोरी सम्झेर मर्न सकिनँ ।’
सहनै नसक्ने यातना दिनहुँ हुन थालेपछि सन्चुमाया लाटीकोइलीमा भएको उनको माइतीको शरणमा पुगिन् । उनकी भाउजु लक्ष्मी चौधरी नवज्योति केन्द्रले निर्माण गरेको महिला समूहको अध्यक्ष थिइन् । भाउजु र नवज्योति केन्द्रकी जरमाया बाठाको सहयोगमा उनले गिताञ्जली ल फर्ममार्फत जिल्ला अदालत सुर्खेतमा अंशमुद्दा दर्ता गराइन् । हाल श्रीमान्, सासु–ससुराको नाममा अंशमुद्दा दर्ता भएपछि जिल्ला अदालत सुर्खेतले उनको नाममा दुई कठ्ठा जग्गा दिलाउने फैसला गरेको छ । यसले उनलाई केही भए पनि न्याय मिलेको महसुस भएको छ । सन्चुमाया र उनकी छोरी श्रीमान्बाट अलग बसेका छन् ।

सन्चुमाया अहिले आफै आत्मनिर्भर भएकी छन् । अधिवक्ता गीता कोइरालासँगै गिताञ्जली ल फर्ममा कम्प्युटर सम्बन्धीको काम गर्छिन् । त्यसैबाट हुने आम्दानीले घर खर्च चलाउँछिन् । विना कुनै यातना खुशीका साथ उनको जीवन चलेको छ । श्रीमान् र सौताको हिंसाबाट आजित भएकी सन्चुमायालाई पहिले हिंसा सहेर बसेकोमा अहिले पछुतो लाग्छ । हिंसा सहनु भनेको पीडकलाई थप बल दिनु हो भन्ने बुझाई सन्चुमायाको छ । विवाह भएपछि घरबाट श्रीमान्ले कतै निस्कन नदिए पनि अहिले उनी स्वतन्त्र भएको महसुस गरेको बताउँछिन् । दुःख परेको बेलामा साथ दिने उनकी भाउजु लक्ष्मी चौधरी, अधिवक्ता गीता कोइराला अनि नवज्योति केन्द्रलाई उनी खुब सम्झिन्छिन् । नर्कबाट उम्केर स्वर्गमा आए जस्तै भएको छ अहिले सन्चुमायालाई । छोरी बिरामी हुँदा, घरखर्च आवश्यक पर्दा सहयोग गरेकी भाउजुलाई अहिले सन्चुमायाले सहयोग गर्ने भएकी छन् । आफूजस्तै हिंसा सहेर बस्न नहुने आम दिदीबहिनीहरूलाई सल्लाह दिन्छिन् ।

सधैं यातना दिने घर र परिवारबाट छुट्टिएपछि सन्चुमायाको जीवनमा खुशी फिरेको छ । ‘जीवनमा उमङ्गै–उमङ्ग छ’ सन्चुमायाले खुशी हुँदै भनिन् ‘स्वतन्त्रता भएपछि एक्लै पनि बाँच्न सकिँदो रैछ ।’ छोरीको भविष्यको लागि चिन्ता गरे पनि पीडाबाट उन्मुक्ति पाएको उनले बताइन् ।

प्रकाशित मितिः   १२ मंसिर २०७६, बिहीबार ०९:५०