नागरपालिकाद्वारा आश्रमलाई सहयोग

सुर्खेत : भेरीगंगा नगरपालिका सुर्खेतले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर आश्रमलाई कपडा वितरण गरिएको हो ।

चिसो मौसमका लागि आवश्यक पर्ने टोपी, जुत्ता, स्वीटर, ज्याकेट लगायतका कपडा वितरण गरिएको छ । वितरण कार्यक्रममा भेरीगंगा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सविता राणाले असहाय मानिसलाई आफूहरूले व्यवसायीबाट कपडा संकलन गरी वितरण गरिएको बताइन् । आश्रममा पहिलो पटक सहयोग गरे पनि आगामी दिनमा थप सहयोग गर्दै जाने उनको भनाइ थियो । ‘पहिलो पटक हामीले कपडा संकलन गरेर वितरण गरेका छौं’ उनले भनिन्, ‘आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जानेछौं ।’ मानव सेवा आश्रमकी सिर्जना वलीले सहयोगका लागि नगरपालिकालाई धन्यवाद दिँदै आफूहरूलाई एक अभिभावक थपिएको महशुस गरेको बताइन् ।