कृषक र उद्यमीलाई सहयोग
सुर्खेत : भेरीगंगा नगरपालिकामा रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले सफल कृषक र उद्यमी शेयर सदस्यहरूलाई सम्मानसहित सहयोग गरेको छ । आफ्नो पाँचाँै वार्षिक साधारणसभाको अवसरमा सोमवार सहकारीले नौ जना भैंसीपालक कृषकहरूलाई क्यान वितरण गरेको हो । सहकारीको शेयर सदस्य भएर सबैभन्दा बढी दुध बेच्ने कृषकहरूलाई क्यान वितरण गरिएको संस्थाले जनाएको छ ।
यस्तै सहकारीले सबै भन्दाबढी खसीबोका बेच्ने शेयर सदस्य चार जना, सहकारी सुपथ मूल्य पसलबाट नियमित र धेरै कारोबार गर्ने चार जना, सहकारीमा नियमित बचत, ब्याज र किस्ता समयमा बुझाउने एक जना, सबैभन्दा बढी तरकारी बिक्री गर्ने तीन जना शेयर सदस्यलाई एक÷एक वटा क्यारेट प्रदान गरिएको छ । कृषक तथा उद्यमीलाई प्रोत्साहन स्वरूप सहयोग गरिरहेको सहकारीले जनाएको छ ।
आगामी दिनमा सहकारीमार्फत उत्पादनमुखी कार्यक्रमहरू सञ्चालनका लागि उद्यम तथा कृषकहरूलाई प्रोत्साहनका कार्यक्रम ल्याउने जनाइएको छ । सभामा सहकारीका कोषाध्यक्ष विन्दु डाँगीले आर्थिक वर्ष २०७६÷०७७ का लागि चार करोड २२ लाख बजेट प्रस्ताव गरिन् । कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले सहकारीको माध्यमबाट समाजको आर्थिक रूपान्तरण गर्न सकिने बताए । उनले सहकारीको विकास र प्रवद्र्धनमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने पनि उल्लेख गरे ।
प्रकाशित मितिः १० मंसिर २०७६, मंगलवार ०८:५१
साझा बिसौनी ।