‘उपचार नपाएर कोही मर्नुपर्दैन’
सुर्खेत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले औषधि र उपचारको अभावमा कर्णालीका कुनै पनि नागरिकले मृत्युवरण गर्नुपर्ने अवस्था अब आउन नदिने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएलगत्तै शनिवार गृहजिल्ला सुर्खेत आइपुगेका रावतले विमानस्थलमा पत्रकारहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सिटामोलको अभावमा कर्णालीमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेकोतर्फ संकेत गर्दै उनले अबको दिनमा त्यसको अन्त्य हुने मन्त्री रावतको भनाइ थियो । उनले यहाँका नागरिकको स्वास्थ्य उपचारको सहज प्रबन्ध गर्न आफूले पहल गर्ने बताए । सरकारले जनताका लागि वितरण गर्ने निःशुल्क औषधिसमेत जनतामाझ नपुगेको भन्दै यसको अनुगमन हुनुपर्नेमा रावतले जोड दिए । ‘स्थानीय तहले यसको जिम्मा लिनुपर्छ’, उनले भने ‘सरकारले निःशुल्क वितरण गरेका औषधि कहाँ जान्छन् ?’ कर्णालीको स्वास्थ्य समस्या सुधार गर्नको लागि आफू लागिपर्ने समेत मन्त्री रावतले बताएका छन् ।
संघीय सरकारले देशका सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य राखेको बताउँदै मन्त्री रावतले कर्णाली प्रदेश अस्पताल मेडिकल कलेजको रूपमा स्थापना गर्ने आधार भएको बताए । उनले सदियाँैदेखि हरेक क्षेत्रमा पछि पारिएको कर्णालीको स्वास्थ्य सुधारमा आफ्नो भूमिका महŒवपूर्ण हुने दावी पनि गरे ।
रावतले कर्णाली अब पनि पिछडिएको प्रदेशको रूपमा नरहने बताए । यहाँका साधन र स्रोतको उपयोग गर्दै समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो । ‘अबको दश वर्षभित्र कर्णाली अग्रस्थानमा पुग्छ’ उनले थपे ‘हामीले कर्णालीको जडिबुटी निर्यात गर्नसक्नुपर्छ ।’ साथै प्रतिनिधिसभाको सदस्य मात्रै हुँदा पनि कर्णालीको पक्षमा काम गरेको भन्दै उनले मन्त्री भएपछि थप जिम्मेवारी बढेको बताए ।
साझा बिसौनी ।