बढ्दै घरेलु हिंसा, असुरक्षित महिला

सीता वली,
सुर्खेत :
कर्णाली प्रदेशमा घरेलु हिंसाका घटना प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कर्णाली प्रदेशका दुई हजार पाँच सय नौ जना महिलाहरू घरेलु हिंसाको सिकार भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्ममा उक्त घटना प्रहरीमा दर्ता भएका हुन् । प्रहरीमा दर्ता भएका घटनामध्ये अधिकांश घटना घरेलु हिंसाका छन् । बढ्दो घरेलु हिंसाले महिलाहरू घरभित्रै असुरक्षित हुने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा कर्णाली प्रदेशका दशवटै जिल्लामा गरी सात सय ९६ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका थिए । जसमध्ये सबैभन्दा बढी घटना दर्ता जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिमिल्सिनाले बताए । उनका अनुसार सुर्खेत जिल्लामा तीन सय ७२ घटना उक्त आर्थिक वर्षमा दर्ता भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा आठ सय ५५ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७५÷०७६ मा आठ सय ५८ हिंसाको घटना प्रहरीमा दर्ता भएको तिमिल्सिनाले बताए । यसरी हेर्दा हरेक वर्ष घरेलु हिंसाको घटना बढेको देखिन्छ । यद्यपि यो तथ्यांक प्रहरीसम्म आएका घटनाहरूको हो । यस्ता कैयाँैं घटना प्रहरीमा नआएर मिलाउने गरिएको अधिकारकर्मीहरू बताउँछन् । घरेलु हिंसाका धेरै घटना त मिलापत्रमै टुङ्गिने गरेको प्रहरी समेत बताउँछ । केही घटना दर्ता भए पनि सम्बन्धित व्यक्तिहरू सम्पर्कमा नआउने गरेको जनाइएको छ ।

तिमिल्सिनाका अनुसार प्रहरी कार्यालयमा दर्ता भएका घटनामध्ये दुई हजार एक सय ७९ घटना मिलापत्र भएका छन् । तीन वर्षको अवधिमा दर्ता भएका घटनामध्ये ७६ घटना दर्ता भएर पनि सम्बन्धित व्यक्ति फेरि सम्पर्कमा नआएको उनले बताए । बाँकी दुई सय ५४ घटना अदालती प्रक्रियामा अगाडि बढेको तिमिल्सिनाले बताए ।
कर्णाली प्रदेशमा घरेलु हिंसाको मुख्य कारण मदिरा भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी महानिरीक्षक डीआईजी पूर्णचन्द्र जोशीले बताए । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत थुप्रै कार्यक्रमहरू गर्दै आएको भए पनि न्यूनीकरण गर्न नसकिएको बताए । कर्णालीको गरिबीले पनि महिलाहरू पीडित भएको उनले बताएका छन् ।महिलाहरूमाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने डीआईजी जोशीको भनाइ छ । उनले स्थानीय तहले समेत निगरानी गरी मदिरा नियन्त्रण गरेर आर्थिक आयआर्जनमा महिलाहरूलाई जोड्न सके घरेलु हिंसा न्यूनीकरण हुने उनले बताए । जोशीले पहिलो पटक हिंसा गर्नेलाई सम्झाई बुझाई पठाउँदा पनि पुनः हिंसा गरेको थुपै्र घटना भएको बताए ।

घरेलु हिंसा भएमा पीडित महिलाले जाहेरी दिन सक्ने व्यवस्था घरेलु हिंसा कसूर र सजाय ऐन २०६६ मा व्यवस्था भएको अधिवक्ता रमा प्याकुरेलले बताइन् । उनले घरेलु हिंसा ठहर भएको खण्डमा पिडकलाई तीन हजारदेखि २५ हजारसम्म जरिवाना तथा ६ महिना कैद वा दुवैे सजाय हुने बताइन् । घरेलु हिंसा उद्योग गर्नेलाई आधा सजाय हुने र यसको अलावा अदालतले संरक्षणात्मक आदेश समेत दिने व्यवस्था भएको उनले बताइन् । सार्वजनिक पदमा बसेका, ज्येष्ठ नागरिक, गर्भवती लगायतलाई हिंसा गरेमा थप दश प्रतिशत सजाय हुने प्याकुरेलले जानकारी दिइन् ।

उनका अनुसार घरेलु हिंसा कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः हिंसा गरेमा हरेक पटक दोब्बर सजाय हुने समेत कानुनी व्यवस्था छ । अदालतको दिएको संरक्षणात्मक आदेश नमान्नेलाई दुईहजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना र चार महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएको उनले बताइन् । घरेलु हिंसाबाट महिलाहरू नै पीडित हुने गरेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७६, आईतवार ०९:२६