मुगुमा कर्मचारी अभाव

मुगु : मुगुको सोरु गाउँपालिका–११ हरिबहादुर मल्ल नागरिकताको प्रमाण–पत्र बनाउन तीन दिन हिँडेर जिल्ला प्रशासन कार्यालय पुगे । सदरमुकाम गमगढी पुगेको चार दिन हुँदा पनि उनले काम भएको छैन । सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय भए पनि त्यहाँ अहिलेसम्म कर्मचारी नभएकाले जिल्ला सदरमुकाम आउँदा समेत यतिका दिन लागेको मल्लले गुनासो गरे । यस्तै, खत्याड गाउँपालिका–६ रास्केटका परिमल भियालले जिल्ला प्रशासन कार्यालय दुई दिन धाउँदा मात्र नागरिकताको प्रमाण–पत्र पाए । दरबन्दीअनुसार कर्मचारी नभएकाले सेवाग्राहीको काम ढिला भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउँछन् ।

उनका अनुसार कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार नायव सुब्बा, चार खरिदार र चार कार्यालय सहयोगीको दरबन्दी छ । तर, कार्यालयमा प्रजिअ, सहायक प्रजिअ र केही खरिदार र कार्यालय सहयोगी मात्र छन् । चार जनानै नायव सुब्बाको कोटा खाली छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७६, आईतवार ०९:१९