देउडा संरक्षणमा बुढापाका

मुना हमाल,
सुर्खेत :

हे बासमति भात भनि खायाँ, कोहिली मिठो गीत गाउँछ
ढुङ्गाको गाँस भयो सम्झना गाउँघरकै आउँछ ।
हे हो–होइन सोचेकै थिएन कोहिली मिठो गीत गाउँछ ।
चाहाना माग भा’छ हजुर सम्झना गाउँघरकै आउँछ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं १२ की ९० वर्षीया भदुरी भण्डारी देउडाको यी भाका पैतला मिलाएर आफ्ना साथीसंगिनीसँगै गाएर आफ्नो गाउँघरको सम्झना गर्छिन् । झण्डै दुई दशक अघि जुम्लाबाट बसाइँ सरेर सुर्खेत आएपछि गाउँघरको रौकन उनले पाइनन् । तर पछिल्लो समय बुढापाका नै देउडा संरक्षणमा जुटेपछि उनलाई गाउँघरको सम्झना दिलाइदिएको छ ।

कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा गाइने देउडा गीतको संरक्षणका लागि वीरेन्द्रनगरको खुल्लामञ्चमा प्रत्येक महिना दुईदिन देउडा मेला नै लाग्ने गर्दछ । ‘उमेर ढकल्दै गएपछि पहिलेको जसरी देउडा गाउन सकिदैन । मेलापर्वमा रातभरी देउडा गाएको सम्झना आउँछ’ उनले भनिन्, ‘अहिलेका युवाले देउडा के हो भनेर थाहा पाउन छोडिसके । हामी बुढापाका आउँछौं खेल लगाउँछौँ ।’

वीरेन्द्रनगरमा प्रत्येक महिनाको एक गते र १५ गते बुढापाका जमघट हुने गर्दछन् । आधुनिकताले आफ्नो पुर्खादेखिको देउडा संस्कृति युवा पुस्ताले भुल्दै गएपछि सात वर्षदेखि खुल्लामञ्चमा जम्मा भएर गाउन थालेका छन् । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबाट बसाइँ सरेर सुर्खेत आउनेको संख्या बढ्दो छ । कर्णाली प्रदेशका मुगु, हुम्ला, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरालगायतका मानिसहरू सुर्खेतमा स्थायी बसोबास गरेका छन् । यसले उनीहरूबीच लामो समयपछि एक अर्काबीच भलाकुसारी गर्ने मौका दिएको छ । त्यसका साथै आफ्ना गाउँघरका हालखबर सोध्ने, एक अर्कासँग नयाँ परिचय गर्ने माध्यम पनि खुलामञ्चको देउडा खेल भएको छ ।

आफ्ना छोराछोरीसँगै वीरेन्द्रनगर सुर्खेत आएका बृद्धाहरू खुल्लामञ्च समेत देउडा खेलमा सरिक हुने गरेका छन् । वीरेन्द्रनगरका नरबहादुर रोकायले आफ्नो संस्कृति पनि जोगिने र भलाकुसारी हुने भएकाले आफूहरू एक भएर देउडा संरक्षणमा लागेको बताए । उनले भने, ‘पछिल्लो पुस्ताले देउडा संस्कृतिको चासो दिदैन । तयार भएका गीतहरू डेकमा बजाएर नाँच्छन् । पहाडमा आफ्ना गाउँघरमा गाइने देउडा गीत हामी जहाँ भए पनि संरक्षणका लागि लाग्नुपर्छ भनेर समिति नै बनाएर लागेका छौँ । आफू उमेरका साथीहरूसँग भेटघाट भएको छ । आफ्नो संस्कृतिको संरक्षण भएको छ ।’
देउडा गीतमा उनीहरूले गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हाल्ने गर्छन् । गाउँघरको मौलिक देउडा गीतका भाका सुन्न र हेर्न अहिले खुल्लामञ्चमा भिड समेत लाग्ने गर्छ । नयाँ पुस्ताले देउडा गीतका बारेमा नजान्दा देउडा गीत संरक्षणमा चुनौती भएको बुढापाका बताउँछन् । यस्तो समयमा वृद्धवृद्धाहरू एक भएर संस्था दर्ता गरी संरक्षणमा लागेका हुन् । बेलाबखतमा हुने मेलामहोत्सवमा पनि स्थानीय संस्कृतिलााई भन्दा पनि आधुनिक खालका गीतहरूलाई प्राथमिकता दिने गरेको उनीहरूको भनाइ छ ।

भेरीकर्णाली लोक सांस्कृतिक जागरण मञ्च गठन गरेर देउडा संरक्षणमा जुटेका छन । मञ्चका अध्यक्ष बलिराम देवकोटाले पुरानो रितीरिवाजलाई संरक्षणका लागि यसरी खुल्लामञ्चमा कार्यक्रम गर्दै आएको बताए । उनका अनुसार मञ्चमा एक सय ५० जना वृद्धवृद्धा आवद्ध छन् । देउडा संरक्षणमा राज्यले पनि ध्यान नदिएको उनको गुनासो छ । ‘नयाँ पुस्ताले देउडा संस्कृति भुल्दै गएको छ । प्रदेश सरकारले यसको संरक्षणका लागि ध्यान दिनुपर्छ’ उनले भने ।