राजमार्ग छेउका टहरा हटाउन सुरु

सुर्खेत : रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको सडकको छेउछाउमा रहेका घरटहरा र फुटपाथ हटाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन र स्थानीयसँग समन्वय गरेर सडकमा पर्ने घरटहरा र फुटपाथ हटाउन लागेको हो ।

रत्न राजमार्गमा पर्ने वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म फोरलेनको सडक बनाउने कामलाई सहज गराउन र पैदल यात्रुहरूको सुरक्षालाई ध्यान दिएर अतिक्रमण गरेर बनाइएका घरटहरा र फुटपाथ हटाउन लागिएको हो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै अहिले मानिसहरूको चहल–पहल बढ्दो छ । सडक छेउछाउमा टहरा र फुटपाथ हुँदा सडक सुरक्षा समेत चुनौती बन्दै गएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरूप्रसाद अधिकारीले वीरेन्द्रनगर नगरपालिका, प्रशासन, प्रहरी र स्थानीयको सहयोगमा अतिक्रमण गरेर बनाइएका घरटहरा र फुटपाथ हटाउन सुरु गरिएको जानकारी दिए । सडक चौडा भए पनि पैदल यात्रुका लागि हिँड्न समस्या भएपछि हटाउन लागिएको उनको भनाइ छ । मंगलगढीचोकदेखि घरटहरा हटाउन सुरु गरिएको छ । सडकमा स्थानीयको अवरोध, पानीका पाइप र बिजुलीका पोलले गर्दा पनि सडकको कामको लागि चुनौती रहेको उनले बताए । एउटा निकायले मात्र चाहेर सडक सुरक्षा कायम गर्न नसकिने भन्दै यसमा सबै पक्षको सहयोग आवश्यक पर्नेमा अधिकारीले जोड दिए ।

वीरेन्द्रनगरमा सडकको दायाँ–बायाँ २५÷२५ मिटर गरेर ५० मिटर फराकिलोे १० किलोमिटरको फोरलेन सडक विस्तार गर्न लागिएको छ । हालसम्म आठ किलोमिटर सडकको काम भइसकेको छ । ढोडेखालीदेखि बाङ्गेसिमलसम्म दुईसय मिटर र धुलियविटदेखि सुब्बाकुनासम्मको एक हजार आठ सय मिटर सडक विस्तार गर्न बाँकी छ । प्रमुख अधिकारीले सडकको बाँकी काम यसैवर्षदेखि सुरु गरिने जानकारी दिए । बाँकी सडकको कामका लागि अब टेन्डर खोल्ने तयारी भएको उनले जनाए । सडकको पाँच वटामध्ये दुई वटा पुलमा गाडी सञ्चालन भएका छन् । एउटा पुलको बिम बान्ने र ढलान गर्ने काम बाँकी रहेको छ । दुई वटा पुलको काम अब सुरु गर्ने उनले जानकारी दिए ।

प्रकाशित मितिः   २४ कार्तिक २०७६, आईतवार १२:३३