नेपालको जमिन भारतको नक्सामा

काठमाडौं : नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई भारतले नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएको छ । भारतले केही दिनअघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नोतर्फ राखेको हो । लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेको हो ।

भारतले केही महिनाअघि विवादित भूमि जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो । यो नयाँ नक्सामा विशेष दर्जा खारेज अघिसम्म एकै राज्यमा रहेका जम्मु–कश्मीर चीनले समेत दाबी गरिरहेको भूमि लद्दाखलाई अलग–अलग राज्यका रूपमा सार्वजनिक गरिएको छ । केन्द्र शासित यी भूगोललाई दुई राज्यमा विभाजन गरिएको निर्णय औपचारिक रूपमा लागु गरेकै दिन यही आइतवार भारतले उक्त नक्सा सार्वजनिक गरेको हो ।

नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई आफ्नो क्षेत्रमा राखिएपछि नेपालबाट भारतको आलोचना सुरु भएको छ । भारतको यस्तो नक्सा आएपछि मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसमा गम्भीर चासो देखाएको छ । यसअघि सार्वजनिक गरिएको नेपाली नक्सामा कालापानी र लिपुलेक दुवै क्षेत्र नेपालतर्फ नै रहेको देखाइएको छ । नापी विभागले सार्वजनिक गरेको नक्सामा यी दुई क्षेत्र नेपालमै रहेको देखाइएको छ । भारतले अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ‘ए’ खारेज गर्दै जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेसँगै लद्दाखलाई छुट्टै राज्यको मान्यता दिइएको छ । यी दुई भूगोललाई दिइएको विशेषाधिकार खोसेपछि त्यसलाई भारत सरकारले आइतवारदेखि औपचारिकरूपमा लागू गरेको हो ।

प्रकाशित मितिः   २० कार्तिक २०७६, बुधबार ०७:३३