नाम मात्रको प्रसूतिगृह

मुगु : छाँयानाथ रारा नगरपालिका–९ मुर्मामा स्थापित प्रसूतिगृह स्थापना भएको १५ वर्ष भएको छ । तर, सेवा सुचारू नहुँदा गर्भवती महिलालाई समस्या भएको छ । गर्भवती भएका महिलालाई सहज होस भन्ने उदेश्यले २०६१ सालमा हेल्प नेपाल नेटर्वक नामक संस्थाले हेल्प नेपाल स्वास्थ्य चौकी स्थापना गरेको थियो । अन्य सामान्य सेवा सुचारू भएका भए पनि प्रसूतिगृह सञ्चालनमा नआएको हेल्प नेपाल स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण रावलले जानकारी दिए । उनका अनुसार अन्य सेवा सुचारू भएका छन् तर प्रसूतिगृह सञ्चालनका लागि दक्ष चिकित्सक नुहँदा सेवा सुचारू नभएको ईन्चार्ज रावलको भनाई छ ।

स्वास्थ्य चौकीमा हेल्प नेपाल संस्थाबाट सहयोगार्थ आएका प्रसूतिगृहका सामानहरू पनि दक्ष चिकित्सक नहुँदा कोठामै थन्किएका छन् । ‘हेल्थपोष्टमा सामान्य बिरामी आएमा उपचार गर्ने गरेको तर जटिल बिरामीका लागि उपकरण भएका भए पनि दक्ष जनशक्ति नहुँदा जिल्ला अस्पताल लगायत बाहिर जिल्ला रिफर गर्ने गरेका रावलको भनाइ छ । स्थानीय तह छाँयानाथ रारा नगरपालिकामा कर्मचारीको अभाव छ, दक्ष जनशत्ति नहुँदा उपकरणमा खिया लागेका कुरा सुनाउँदा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले बताए । उनका अनुसार स्वास्थ्य चौकीमा अक्सिजन मेसिन, ल्याप मेसिन, माईक्रोसप्ट ल्याप, रगत चेक गर्ने मेसिन, सिरिन्ज निर्मलीकरण मेसिन, ३ किलोवाट क्षमताको बत्ती, ईन्टरनेट समेतको व्यवस्था भएकोभएपनी कर्मचारी अभावमा उपकरण थन्किएका अध्यक्ष रोकायाको भनाइ छ । यता, छाँयानाथ रारा नगरपालिका–९ का वडा अध्यक्ष मणिचन्द्र रोकायाका अनुसार स्थानीयतह छाँयानाथ रारा नगरपालीकामा यस विषयमा कुरा भएको भए पनि हेल्प नेपालले समस्या गरेको बताए । ‘कि हेल्प नेपालले हात झिक्नुप¥यो कि दक्ष जनशत्तिको व्यवस्था गरी राम्रो सेवा दिनुप¥यो’ अध्यक्ष रोकायाले भने । हात पनि नझिक्ने र सेवा पनी नदिने भएका कारण यो समस्या भएको र समस्या समधानका लागि यो आर्थिक वर्षमा तीन लाख रूपैयाँ बिनियोजित गरेको वडा अध्यक्ष रोकायाले बताए ।

प्रकाशित मितिः   ५ कार्तिक २०७६, मंगलवार ०९:३१