पर्यटकीय गन्तव्य

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ मा अवस्थित काँक्रेविहार ऐतिहासिक एव्म पुरातात्विक क्षेत्र हो । अब यो पर्यटकीय गन्तव्य बनेको छ । दोस्रो लुम्बिनीका रुपमा समेत यसको चर्चा परिर्चा हुनेगरेको छ । जसको प्रभाव हो काँक्रेविहार हेर्न आउनेहरुको संख्या वर्षेनी बढ्दो छ । भर्खरै मात्रै पुननिर्माण सम्पन्न भएपछि काँक्रेविहार हेर्न आउनेहरुको चहलपहल थप बढेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले दिएको तथ्याङ्क अनुसार गत साउनयता तीन महिनाको अवधिमा २९ हजार आठ सय ६७ जनाले काँक्रेविहारको अवलोकन गरेका छन् । साउन महिनामा १२ हजार ६ सय ३४, भदौ महिनामा सात हजार एक सय ८६ र असोज महिनामा १० हजार ४७ जनाले काँक्रेविहारको अवलोकन गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ९७ हजार छ सय ७० जनाले काँक्रेविहार अवलोकन गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा वृद्धि हुने देखिन्छ ।

काँक्रेविहारमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक र बाह्य पर्यटकहरु आउने गरेका छन् । काँक्रेविहारको पुनर्निर्माण सम्पन्न हुनुका साथै अहिले पर्यटकिय सिजन र चाडपर्व भएकाले पनि पर्यटकहरुको चहलपहल बढेको हो । रारा ताल घुम्न जाने पर्यटकहरु बढेकाले पनि काँक्रेविहार अवलोकन गर्ने पर्यटकहरुको चहलपहल बढेको छ । गएको भदौ महिनामा काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भएको थियो । पुरातत्व विभागले भग्नावशेष उत्खनन् गरेर पुनर्निर्माण गरेको थियो । एक सय पाँच फिट अग्लो रहेको छ । मन्दिरको पुनः निर्माण मात्र भएपनि यसको रंगरोगनलगायतका कामहरु गर्न बाँकी रहेको छ ।

भग्नावशेषको रुपमा रहेको काँक्रेविहार पुनःनिर्माणमै वर्षौ बित्यो । झण्डै २० वर्षअघि पुरातत्व विभागले उत्खनन् गरेको थियो । ढिलै भएपनि पुनःर्निर्माणको कामले पूर्णता पाएको छ । अब बाँकी रहेको कामलाई पनि सम्पन्न गरेर काँक्रेविहारको प्रचारमा ध्यान दिनुपर्ने समय आएको छ । यसलाई अझ वृहत रुपमा प्रचार प्रसार गर्न सकेको खण्डमा यसले आन्तरिक मात्र होइन ठूलो मात्रामा बाह्य पर्यटकहरु पनि आकर्षित गर्न सक्दछ । जसले कर्णालीलाई नै आर्थिक लाभ दिनेछ ।

विहार निर्माणले मात्रै होइन यसको प्रचार प्रसार र थप आकर्षक योजना र कार्यक्रम पनि ल्याउन अपरिहार्य छ । हालैमात्र वडा कार्यालयले घोडा सवारीको व्यवस्था गरेको छ । जसले पर्यटक आकर्षण गर्न सघाउनेछ । यसैगरी काँक्रेविहार अवलोकनका साथ–साथै अन्य मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालनमा जोड दिन सकिन्छ । जसका लागि बाल उद्यान, चिडियाघर निर्माण गर्न सकिन्छ । सँगसँगै सरसफाईमा पनि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ३ कार्तिक २०७६, आईतवार १४:०१