‘मन्त्री हेरफेर हुँदैन’

सुर्खेत : संघिय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मन्त्री हेरफेरको कुरा हल्लामात्रै भएको दावी गरेका छन् । गृह जिल्ला जाजरकोट जाने क्रममा शनिवार सुर्खेत विमान स्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले लामो समयदेखि मन्त्री हेरफेरको कुरा चलिआए पनि त्यो मिडियाबाजी मात्रै भएको बताएका हुन् । उनले तत्काल मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको बताए ।

यद्यपी उनले मन्त्रीपरिषद् हेरफेर गर्ने अधिकार भने प्रधानमन्त्रीको भएको बताए । मन्त्रीपरिषद् कस्तो बनाउने भन्ने कुरा प्रधानमन्त्रीको विश्वासमा रहेकोले मन्त्रीहरू हेरफेर गर्ने अधिकार उनकै भएको बस्नेतको भनाइ थियो । ‘मन्त्रीपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताको लागी हो’ उनले भने । तर अहिले हल्ला गरिएजस्तो तत्काल हेरफेरको चर्चा नभएको उनले स्पष्ट पारे ।

मन्त्री बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले कर्णालीलाई समेत ठुलो फाईदा पुगेको बताए । नेपाल र चीनबीच भएको सम्झौतामा सुर्खेत–हिल्सा सडक निर्माणले प्राथमिकता पाएको उनको भनाई रहेको थियो । कर्णाली करिडोर निर्माणको विषय छोटो रूपमा समावेश भएकोले जनमानसमा अन्योलता सृजना भएको समेत उनले जानकारी दिए ।

बस्नेतले विगतका सरकारहरू एक वर्ष पनि नटिक्ने गरेको भन्दै अब भने त्यो अवस्था नरहने बताए । पुर्ण बहुमतको सरकारले विकास निर्माणमा कुनै कसर बाँकी नराखी अगाडि बढ्ने उनकोे भनाई रहेको थियो । ‘विषेश गरि कर्णालीको समृद्घिका लागी राष्ट्रिय ऐजेण्डा बनाई म अगाडि बढेको छु’ मन्त्री बस्नेतले भने ‘विगतका वर्षहरूमा अस्थीर राजनीतिक परिस्थितिले सरकारको आयु नै एक वर्ष हुुनुले सोचे जति विकास गर्न सकिएको थिएन । अब त्यस्तो अवस्था आउँदैन ।’ वर्तमान सरकार जनचाहाना अनुरूप काम गर्न प्रतिवद्घ रहेको उनको भनाई थियो । संघीय सरकार विकासको बाधक भयो भन्ने प्रदेश सरकारको आरोपका सन्दर्भमा मन्त्री बस्नेतले कानुन निर्माणमा ढिलाई भएको स्विकारे ।

प्रकाशित मितिः   ३ कार्तिक २०७६, आईतवार १३:५५