काँक्रेविहारमा पर्यटकको आगमन बढ्यो

 

मुना हमाल
सुर्खेत : दोस्रो लुम्बिनीका रूपमा परिचित सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक क्षेत्र काँक्रेविहारमा पर्यटकको चहलपहल बढेको छ । शिखर शैलीमा मन्दिरको आकारमा काँक्रेविहारलाई पुनः निर्माण सपन्न भएपछि काँक्रेविहारमा पर्यटकको चहलपहल बढ्दो छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को वडा कार्यालयले दिएको तथ्याङ्क अनुसार गत साउनयता तीन महिनाको अवधिमा २९ हजार आठ सय ६७ जनाले काँक्रेविहारको अवलोकन गरेका छन् । साउन महिनामा १२ हजार छ सय ३४, भदौ महिनामा सात हजार एक सय ८६ र असोज महिनामा १० हजार ४७ जनाले काँक्रेविहारको अवलोकन गरेका हुन् ।

अघिल्लो आर्थिक बर्षमा ९७ हजार छ सय ७० जनाले काँक्रेबिहार अवलोकन गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा वृद्धि हुने वडा कार्यालयको भनाई छ । काँक्रेविहारमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक र बाह्य पर्यटकहरू आउने गरेका छन् । काँक्रेविहारको पुनःनिर्माण सम्पन्न हुनुका साथै अहिले पर्यटकिय सिजन र चाडपर्व भएकाले पनि पर्यटकहरूको चहलपहल बढेको हो । रारा ताल घुम्न जाने पर्यटकहरू बढेकाले पनि काँक्रेबिहार अवलोकन गर्ने पर्यटकहरूको चहलपहल बढेको छ । कर्णालीका अन्य पर्यटकिय क्षेत्रमा जाने केन्द्र सुर्खेत भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए ।

गएको भदौँ महिनामा काँक्रेविहारको पुनःनिर्माण सम्पन्न भएको थियो । पुरात्व विभागले काँक्रेविहारको भग्नावशेष उत्खनन् गरेर पुनःनिर्माण गरेको थियो । काँक्रेविहार एक सय पाँच फिट अग्लो रहेको छ । काँक्रेविहार मन्दिरको पुनःनिर्माण मात्र भएपनि यसको रंगरोगनलगायतका कामहरू गर्न बाँकी रहेको छ । काँक्रेविहारको निर्माण भएपछि पछिल्लो समय पर्यटकको उपस्थित राम्रो भएको अध्यक्ष मानन्धरको भनाई छ । उनले भने, ‘पहिलेको भन्दा पर्यटकहरूको चहलपहलमा वृद्धि भएको छ । काँक्रेविहारको पुनःनिर्माण भएपछि अझ पर्यटकहरूको उपस्थित राम्रो छ ।’ अध्यक्ष मानन्धरका अनुसार आन्तरिक पर्यटक र बाह्य पर्यटक काँक्रेविहार अवलोकनमा आउने गरेका छन् । रारा ताल घुम्न जाने पर्यटकहरू रारा जाँदा होस् या रारा पुगेर फर्किदा काँक्रेविहार अवलोकन गर्ने गरेको अध्यक्ष मानन्धरले बताए ।

काँक्रेविहारमा पर्यटकको मनोरञ्जनका लागि घोडा सवार कार्यक्रम समेत ल्याइएको छ । वडा कार्यालयले पर्यटकको सहजताका लागि र मनोरञ्जनका लागि घोडा सवार कार्यक्रम ल्याएको वडा अध्यक्ष मान्नधरले जानकारी दिए । उनले काँक्रेविहारमा चिडिया घर र बालउद्यान बनाउने नगरपालिकाको योजना रहेको बताए । काँक्रेविहारको निर्माण भएपनि तिहारपछि फिनिसिङ्ग हुने उनको भनाई छ ।

काँक्रेविहारमा अवलोकन गर्न आएका पर्यटकले काँक्रेविहारको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । पुर्वजले बनाइदिएको ऐतिहासिक धरोहरका रूपमा संरक्षण गर्न सबै लाग्नुपर्ने उनीहरूको भनाई छ । डोटीबाट रारा हुँदै काँक्रेविहार अवलोकन गर्न आइपुगेका अंकबहादुर खड्काले पुर्वजहरूले बनाएको ऐतिहासिक महत्वको काँक्रेविहारको संरक्षणलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, ‘हाम्रा पूर्वजले बनाइदिएको इतिहासबाट हामीले धेरै सिक्न सक्छौं । यो हामीपछिका पुस्ताहरूलाई पनि देखाउनुपर्छ । त्यसैले यसको संरक्षणमा राज्यले अझै ध्यान दिनुपर्छ ।’

वीरेन्द्रनगर वडा नं. ८ की सिमिला खड्काले धेरै वर्षपछि काँक्रेविहार निर्माण भएर नयाँ देख्न पाउँदा खुशी भएको बताईन । उनले आफू करिब पाँच बर्षपछि मात्र काँक्रेविहार अवलोकन गर्न आएको जनाईन । काँक्रेविहारलाई अझै व्यवस्थित गर्न सके पर्यटकको संख्या अझै बढ्ने सक्ने उनको भनाई छ ।

प्रकाशित मितिः   २ कार्तिक २०७६, शनिबार १०:१०