प्रकाशकीय
साझा बिसौनी दैनिक आज सफलतापूर्वक सातौं वर्षमा प्रवेश गरेको छ । मासिक र साप्ताहिक हुँदै दुई वर्ष पहिला आजकै दिनबाट हामीले आफ्नो दैनिक प्रकाशन सुरु गरेका थियौं । आम पाठक तथा शुभेच्छुकहरूको साथ र विश्वासको शक्तिले हामीलाई यहाँसम्म ल्याएको हो । यहाँहरूको विश्वास, माया र सद्भावले गर्दा दैनिक प्रकाशनको दुई वर्षमा हामीले अपेक्षा गरे अनुसार नै सफलता प्राप्त गर्न सफल भएका छौं । हाम्रा आदरणीय पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूबाट प्राप्त समर्थन तथा हौसलाकै कारण हामी यो सञ्चार माध्यमलाई थप विस्तार गर्नेतर्फ अभिप्रेरित भइरहेका छौं । सुर्खेतमा रहेर सूचना प्रवाहको भरपर्दो संस्थाका रूपमा हामीले अघि बढाएका कदममा सदैव साथ दिने र हामीप्रति सहानुभूति देखाउने सम्पूर्ण नागरिकहरूप्रति हामी आभारी छौं । नागरिकलाई सु–सूचित गर्ने र समाज रूपान्तरणका लागि दिशानिर्देशकको रूपमा एक दैनिक पत्रिकाकोतर्फबाट हामीले आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गरिरहेको प्रमाण जनताले हामीलाई आजसम्म दिएको माया र विश्वास नै हो ।
समाजलाई सही दिशातर्फ मुखरित गर्ने कुनै सामाजिक अभियन्ताको आवाज बनेर होस् वा जिल्लाको विकास निर्माणको सवालमा होस्, वा जिल्लामा सञ्चालन भएका सामाजिक अभियानहरूमा ऐक्यबद्धता जनाएर हामीले सदा उच्च स्थानमा राखेर आफ्ना सामग्रीहरू प्रकाशन गर्दै आएका छौं । अघिल्लो वर्ष जिल्लामा सञ्चालन भएको अखण्ड मध्यपश्चिमको आन्दोलनमा हामीले यहाँका जनताको भावनालाई आत्मसात् गर्दै खरो रूपमा सामग्रीहरू प्रकाशन ग¥यौं । सुदूरपश्चिममा गाभिएको भू–भागलाई फिर्ता गराउने जनताको आवाजलाई पत्रिकामार्फत् बुलन्द पार्दै हामीले निरन्तर आवाज उठायौं । जसको परिणाम आन्दोलनले पनि उचाइ प्राप्त ग¥यो । अन्ततः १० जिल्ला समटेर छैठौं प्रदेश घोषणा भयो । अब यो प्रदेशको राजधानी सुर्खेत हुनुपर्छ भन्ने नागरिकको भावनाअनुसार आउँदा दिनमा हामीले आफूलाई त्यसतर्फ केन्द्रित गर्ने प्रण समेत गर्दछौं ।
यस्तै लोकतन्त्र, मानवअधिकार एवम् जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि यस दैनिकले कहिल्यै पनि सम्झौता
गरेन । आगामी दिनमा पनि नागरिक स्वतन्त्रताका लागि कुनै पक्ष वा विपक्षमा नभइ सत्य र तथ्यको पक्षमा वकालत गर्ने प्रण गर्दछौं । छोटो अवधिमा नै पाठक, विज्ञापनदाता तथा शुभेच्छुकले दिएको माया र उत्प्रेरणाले हामीमा थप ऊर्जा थपिएको छ । सुर्खेतमा मात्र नभइ छिमेकी जिल्ला दैलेख र कालिकोटमा समेत हाम्रो पहुँच विस्तार हुन पुगेको छ । सातौं वर्ष प्रवेशको यो अवसरमा हामी अब आफ्नो पहुँचलाई छिमेकी जिल्ला जाजरकोटमा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै आगामी दिनमा पनि हामी कुनै पनि दबाब, प्रभाव र अभावबाट मुक्त रहेर नागरिकहरूलाई सही सूचना सम्प्रेषण गर्ने अठोट गर्दछौं । साझा बिसौनी स्थापनाकालदेखि नै यसलाई माया गर्ने, यसका विचारलाई सम्मान गर्ने पाठक, विज्ञापन दिएर हाम्रो व्यापारिक साख बढाइदिने विज्ञापनदाता, यस पत्रिकालाई घर–घरमा पु¥याउने वितरक तथा बेलाबेलामा सल्लाह र सुझाव दिने सम्पूर्ण शुभेच्छुकहरूप्रति हामी कृतज्ञ छौं । आउँदा दिनमा पनि पाठकको अटुट माया, विश्वास र सद्भाव यसरी नै पाउने अपेक्षा गर्दछौं ।
………………….
(गोपी अधिकारी)
प्रकाशक
साझा बिसौनी संवाददाता ।