पूणिर्मामा कांग्रेसको चियापान
सुर्खेत : नेपाली कांग्रेस सुर्खेतले आइतवार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
वि.सं. २०३३ मा जननेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । चियापान कार्यक्रममा कांग्रेसका नेता कार्यकर्तासँगै अन्य राजनीतिक दलहरूका जिल्लास्तरीय शीर्ष नेतृत्वहरूको पनि सहभागिता रहेको थियो ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पार्टी सभापति कमलराज रेग्मीले वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर शुरू गरेकोे चियापान कार्यक्रम ऐतिहासिक भएको बताए । उनले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको बताए ।
चियापान कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउन सहयोग पुगेको काँग्रेसको अपेक्षा छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्ट, जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मानबहादुर खड्का, जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्र केसी, लेकवेशी नगरपालिका प्रमुख गगनसिं सुनार लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसले वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रकाशित मितिः २७ आश्विन २०७६, सोमबार १२:१५
साझा बिसौनी ।