‘अपाङ्गमैत्री विद्यालय बनाउ’

सुर्खेत : अपाङ्गमैत्री विद्यालय निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बुधवार राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आयोजना गरेको एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले कर्णाली प्रदेशका जनप्रतिनिधिहरू अपाङ्गप्रति उत्तरदायी नभएको बताए । उनले कर्णाली प्रदेशमा नयाँ बनेका विद्यालय भवनहरू समेत अपाङ्गमैत्री नभएको जानकारी दिए । प्रदेशका दैलेख र जाजरकोटका विद्यालयहरूमा गरिएको अनुगमनमा यस्तो पाइएको शर्माको भनाइ थियो ।

सेभ द् चिल्ड्रेन, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघबाट गरिएको अनुगमनका क्रममा दैलेख र जाजरकोटका केही विद्यलायहरूमा अपाङ्गगता भएका विद्यार्थीहरूको तथ्यांक समेत नभएको पाइएको छ ।  ‘अपाङ्गता भएकाहरू विद्यार्थी नै हैनन् भन्ने धारणा विद्यालयले राखेको पाइयो’ उनले भने ‘अझै पनि केही ठूला भनिएका विद्यालयहरूले अपाङ्गता भएका विद्यार्थीहरूलाई भर्ना लिन मान्दैनन् ।’ अपाङ्गता भएका बालबालिकाहरूका लागि अभिभावक समेत उत्तरदायी नबन्दा समस्या भएको उनले बताए ।

त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्काले समेत नेपाल सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनको क्रममा अपाङ्गगता भएका विद्यार्थीहरूको लागि कुनै पनि पहल नचालेको बताए । उनले एउटा मात्रै अपाङ्गगता भएकाहरूका लागि शीर्षक राखी अभियानसँगै अगाडि बढाउँदा विद्यालय बाहिरका अपाङ्गता भएका बालबालिकाहरू विद्यालयसम्म आउने वातावरण बन्न सक्ने उनको ठम्मयाई रहेको थियो ।

कार्यक्रममा सेभ द् चिल्डे«नका आत्माराम भट्टराईले देशभर अहिले पनि प्राथमिक तहमा विद्यालय बाहिर रहेको जम्मा ४ प्रतिशत बालबालिकामध्ये २ प्रतिशत अपाङ्गता भएका बालबालिकाहरू रहेको बताए । सामाजिक विकास मन्त्रालय शिक्षा विकास महाशाखाका रेशम केसीले तल्लो तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको भए पनि मन्त्रालयले समेत थुप्रै कार्यक्रम र योजना ल्याएको बताए ।

प्रकाशित मितिः   १६ आश्विन २०७६, बिहीबार १४:१४