धरौटीमा छुटे गोवध प्रकरणका आरोपी

सुर्खेत : गौहत्या प्रकरणका आरोपितहरू धरौटीमा छुटेका छन् । गत भदौमा सुर्खेतमा तीन दर्जन बढी गाईगोरु मृत भेटिएको घटनाका आरोपितमध्ये १४ जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोडिएको हो । जिल्ला अदालत सुर्खेतले उनीहरूलाई शुक्रवार धरौटीमा बैंक जमानतसहित रिहा गरेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यबाट भएको थुनछेक आदेशअनुसार उनीहरूलाई धरौटीमा रिहा गरिएको हो । उक्त घटनाका १८ जना आरोपितमध्ये दुई जना फरार रहेको उनले जानकारी दिए । फरार रहेका दुईजना नेपालगन्ज कान्जी हाउसका सहयोगी राकेश भारती र पवन कनौजीयालाई समेत म्याद जारी गर्ने आदेश भएको भण्डारीले बताए ।

नेपालगन्ज उप–महानगरपालिका बाँकेका नगर प्रहरी सूर्यबहादुर बोगटीलाई चार लाख ५० हजार, प्रहरी सहायक निरीक्षक विकास गौतमलाई दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ । त्यस्तै प्रहरी जवानहरू सुवर्ण तारामी मगर, चन्द्रबहादुर राना, सुशान्त शाही र कमल बयकलाई समेत दुई–दुई लाख धरौटीमा अदालतले रिहा गरेको छ ।

क्यारियर ट्रान्सपोर्ट चितवनका सञ्चालक सन्तृप्त श्रेष्ठलाई तीन लाख ५० हजार, वारुण यन्त्र फायर कर्मचारी कमल थापा मगरलाई एक लाख ५० हजार, काञ्जी हाउस सहयोगी धर्मेन्द्र नेपालीलाई समेत एक लाख ५० हजार धरौटीमा जिल्ला अदालत सुर्र्खेतले रिहा गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

त्यस्तै सवारी चालकहरू शत्रुधन चौधरी, हिमबहादुर बिसी, दामोदर केसी, विवेक कुँवर र सागर विश्वकर्मालाई जनही एक÷एक लाख रूपैयाँ घरौटीमा रिहा गरिएको छ । दुईजना सह–चालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई भने साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला अदालत सुर्खेतका अनुसार प्रतिवादीहरू सबैले शुक्रवार नैे धरौटीको रकम बुझाइसकेका छन् । गोवध मुद्दामा जिल्ला न्यायाधिवक्ता डम्बरप्रसाद काफ्ले तथा सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाईंले नेपाल सरकारको तर्फबाट बहस गरेका थिए । त्यस्तै प्रतिवादी तर्फबाट कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा बन्दी, वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता शालिकराम सापकोटा, सुनिलकुमार श्रेष्ठ, मेहरसिंह खत्री, ईश्वरीप्रसाद ज्ञवाली, उत्तमप्रसाद आचार्य र लोकबहादुर शाहले बहस गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।

गत भदौ १३ गते नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित काञ्जी हाउसमा रहेका गाईगोरुहरू सुर्खेतको कटकुवा, बिउरेनी लगायतका स्थानमा मृत फेला परेका थिए । नेपालगन्जबाट सुर्खेत हुँदै आठ वटा ट्रकमा दैलेखको श्रीस्थानसम्म लैजानको लागि ल्याइएका भनिएका गाईगोरु सुर्खेतका जंगलमा अलपत्र छाडिएको थियो । जसमध्ये ३९ वटा सुर्खेतमा मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई सय ९१ गाईगोरु आठ वटा ट्रकमा हालेर ल्याइएको थियो ।

सरकारी वकिल कार्यालय सुर्खेतले नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापालाई भने मुद्दा नचलाउने निर्णय गरेको जिल्ला अदालत सुर्खेतले जनाएकोे छ । उनीहरूमाथि प्रहरीले प्रारम्भिक अनुसन्धान गरे पनि आवश्यक प्रमाण नपुगेका कारण अहिलेलाई मुद्दा नचलाइएको जनाइएको छ ।

यता प्रहरीले अदालतमा मुद्दा नचलाए पनि लापरबाही गरेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेल, उप–महानगरका प्रमुख राणा, प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले सो घटना नियोजित हत्या नभइ लापरबाहीको उपज भएको भन्दै कारबाहीको सिफारिस गरेको हो । गृह मन्त्रालयका उप–सचिव सागरमणि पाठक नेतृत्वको छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा नगर प्रहरीदेखि मेयरसम्मको लापरबाहीका कारण सो घटना भएको निश्कर्ष निकालिएको छ ।

सुरक्षित रूपमा गाईगोरु ओसार्नका लागि सतर्कता नअपनाएको भन्दै समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको बताइएको छ । उप–महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गाईगोरु ओसार्न पत्राचार गरेको थियो । तर, कुनै अध्ययन नै नगरी सीडीओ भुजेलले अनुमति दिएको प्रतिवेदनमा जनाइएको छ । समितिले कमजोर व्यवस्थापकीय क्षमताका कारण सो घटना भएको ठहर गरेको छ ।

प्रकाशित मितिः   ११ आश्विन २०७६, शनिबार १८:०९