अस्पताल भवन प्रदेशलाई हस्तान्तरण

सुर्खेत : कर्णाली प्रदेश अस्पतालका लागि निर्माण गरिएको तीनसय शैयाको भवन शनिवार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको ५४ करोड बढी लागतमा सम्पन्न उक्त भवन हस्तान्तरण गरिएको हो ।

नेपाल सरकार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भवन हस्तान्तरण गरेका थिए । भवन निर्माणका लागि २०७३ साल माघ १२ गते सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख जगदिश लामिछानेले बताए । उनले उक्त भवन ५४ करोड ५५ लाखमा सम्पन्न भएको बताएका छन् । ‘भवन निर्माण ३६ महिनामा गरिसक्नुपर्ने थियो’ लामिछानेले भने ‘तर समय अगावै काम सम्पन्न गर्न सफल भएका छौं ।’

काम सम्पन्न गरिसक्नुपर्ने अवधि २०७६ माघ ११ गते भए पनि कार्यालयले २०७६ साउन १९ गते काम सम्पन्न गरेको उनले जानकारी दिए । हालसम्म ५० शैयाबाट सेवा दिँदै आएको कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप दुई सय पचास शैया थपिएपछि अझै राम्रो सेवा नागरिकले पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७६, आईतवार १३:५६