निरन्तरको मेहेनतले सफलता

                             तेजप्रसाद तिवारी

वीरेन्द्रनगर–१२, नेवारे, सुर्खेतमा वि.सं. २०४० साल वैशाख ४ गते घरको जेठो छोराको रुपमा जन्मिएका तेजप्रसाद तिवारी एक सफल व्यवसायी हुन् । बुवा शिवप्रसाद तिवारी र आमा लक्ष्मी तिवारीको कोखबाट जन्मिएका उनले वि.सं. २०६० सालदेखि व्यवसायमा हात हालेका हुन् । सरल स्वभावका तेजको बोलीमा पनि उत्तिकै नम्रता छ । हरेक क्षेत्रमा नम्रता र इमान्दारिता भए असफल हुनु नपर्ने बताउँछन् उनी । उनै सफल व्यवसायी तेजप्रसाद तिवारीले हाम्रा संवाददाता सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटे:

म घरको जेठो छोरा, हामी सबै ६ भाइ–बहिनी हौं । मैले श्री आदर्श माध्यमिक विद्यालय मेहेली गर्पनमा कक्षा आठसम्म मात्रै अध्ययन गर्ने अवसर पाएँ । पढाइमा म त्यति कमजोर थिइँन । पढ्ने रहर त धेरै थियो तर मैले कक्षा आठ भन्दामाथि आफ्नो अध्ययनलाई लैजान सकिनँ । विविध कारणले पढाइ छोड्नु पर्ने भयो ।

म सानैदेखि सहयोगी, नम्र र इमान्दार थिएँ । मैले कसैलाई पनि अहित हुने काम गर्नुहुन्न भन्ने सोच्थेँ, आज पनि मलाई कसैको अहित हुने काम गर्न मन लाग्दैन । बालापनमा धेरै बालबालिकाहरुले भविष्यमा के बन्छौ बाबु वा नानु भन्दा डाक्टर, पाईलट वा अरु–अरु पेसा देखाउँछन् । तर मैले कहिल्यै पनि आफ्नो भविष्य देखिनँ । मलाई भविष्यमा यो बन्छु भन्ने कहिल्यै लागेन । सायद मलाई भविष्य देख्ने वातावरण मिलेन ।

म एकदमै सामान्य परिवारमा संघर्ष गर्दै हुर्किएको हुँ । जीवनमा अथाह खुशी र दुःखको अनुभूति गर्न पाइएन् । सामान्य अवस्थामा मेरो बाल्यकाले बितेको थियो । मैले मेरो बुबाकै प्रेरणाले वि.सं. २०६० सालमा तीन लाख लगानी गरी तिवारी भाँडा पसलको नाममा व्यवसाय सुरु गरेँ । व्यवसाय सुरु गरेदेखि मैले जीवनमा पछाडि फर्केर हेर्नुपरेको छैन । म आफूलाई सफल व्यवसायी त भन्दिनँ । तर म अहिलेसम्म निरन्तर रुपमा काम भने गरिरहेको छु । राम्रै भइरहेको छ । मेरो पसलमा नआउने ग्राहकको त कुरा गर्दिन तर एक पटक आउने ग्राहक धेरै पटक फर्केर आउनुहुन्छ । व्यवसायमा ग्राहकको हित विपरितको काम पनि मैले गर्दिनँ । यही मेरो इमान्दारिता नै मेरो व्यावसायिक सफलताको राज हो ।

व्यवसायमा दुःख त हुन्छ नै तर इमान्दार भए सफलता पनि उत्तिकै हात पर्छ । आर्थिक अवस्था समेत ठीकै छ । तीन लाखको लगानीबाट सुरु गरेको व्यवसाय करोडौंको भएको छ । व्यवसाय बाहेक मैले सामाजिक काममा समेत हात हालेको छु । सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यको रुपमा समेत काम गरेको छु । त्यस्तै नवज्योति केन्द्र तथा साझा सहकारीको समेत सदस्य भएर काम गरेको छु ।

मलाई दुखी, गरीबको सहयोग गर्नमा जति आनन्द अरु कुरामा आउँदैन । यसरी नै सबैले दुखी गरीबको लागि सोच्ने भए उनीहरुले पनि समाजमा सहज अनुभूति गर्न पाउँथे । संगीतमा पनि मेरो उत्तिकै रुचि छ । विशेष गरी लोकगीतमा मेरो एकदमै रुचि छ । जीवनमा खासै पारिवारिक ठूलो दुःख त बेहोर्नु परेको छैन तर म करिब ६ महिनाको हुँदा आगोले पोलेर हातमा समस्या भएको थियो । बाईक चलाउन नमिल्ने भए पनि मैले शल्यक्रिया गर्ने निर्णय गरें । पहिलो पटकको शल्यक्रिया असफल भएपछि पुनः दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भयो । जसको कारण मलाई असाध्यै पीडा भयो । जीवनमा खुशी त छिनछिनमा आइरहन्छन् । यो व्यवसायलाई अझै पनि विस्तार गर्ने र बढाउने रहर छ । सँग–सँगै समाज सेवामा समेत अझै बढी समर्पित हुने मन छ । मेरो व्यवसायले परिवारमा खुशी दिएको छ । आर्थिक खुशी र परिवारमा व्यस्तता समेत बढाएको छ । मेरा दुई बहिनी छोरीसहित चारजनाको परिवारलाई आनन्दले पुगेको छ । जीवनसंगिनी डिला कँडेल तिवारीले समेत व्यवसायमा सघाउँदै आएकी छन् । बालापनमा नसोचेको मेरो पेसाले मलाई जीवनका सबैजसो खुशी दिएको छ ।

Loading...