निःशुल्क स्वास्थ्य शिविर हुने

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघ तथा जिल्लास्थित सबै लायन्स क्लबहरूको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

काठमाडौं डायविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. र अल्का अस्पताल प्रा.लि. ललितपुरको प्राविधिक सहयोगमा आउँदो असोजको १० र ११ गते दुई दिनसम्म संघको प्राङ्गणमा शिविर सञ्चालन हुने भएको हो । शिविरमा आउने बिरामीहरूका लागि १० दिनसम्म पुग्ने औषधि निःशुल्क वितरण गर्नुका साथै रगतमा चिनीको मात्रा परीक्षण पनि गरिने भएको छ ।

उक्त रोग विशेषज्ञ नेपालकै ख्याती प्राप्त डा. अंशुमाला जोशीले शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै रोग सम्बन्धी अभिमुखीकरण पनि गर्ने बताइएको छ । संघको आयोजनामा मंगलवार लायन्स क्लबका अध्यक्षहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले संघका कोषाध्यक्ष भद्र भण्डारीको संयोजकत्वमा ९ सदस्यीय शिविर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिको सदस्यमा लायन्सबाट युवराज पौडेल, विनुसिं भाष्कर, सीता शर्मा, भरत देवकोटा, शारदा शेर्पा, बालकृष्ण श्रेष्ठ र संघका तर्फबाट राजु पाण्डे तथा भीमप्रसाद पौडेल रहेका छन् ।

प्रकाशित मितिः   २५ भाद्र २०७६, बुधबार १२:००