बाल्यकालमै घर छोडेर हिँडे

                                       रामबहादुर बुढा

रामबहादुर बुढा सव–डिभिजन वन कार्यालय बराहतालका वन प्राविधिक हुन्् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । वि.सं. २०२९ साउन ७ गते बुबा गोरखबहादुर बुढा र आमा सीता बुढाको सन्तानका रूपमा जुम्लाको तत्कालीन गर्जाङ्कोट गाविस (हाल गुठीचौर गाउँपालिका–४) मा जन्मिएका उनको लोकगीत संगीतको संरक्षणमा महŒपूर्ण भूमिका रहेको छ । जागिर र कलाकारिता सँगसँगै अघि बढाएका रामबहादुरले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे :

मेरो बाल्यकाल जुम्लामा बित्यो । पहाडै पहाड भएको ठाउँ । त्यस बेलामा न सडक थियो न सञ्चारको सुविधा थियो । अप्ठ्यारो अवस्थामा बाल्यकाल बिताएको हुँ । मेरो बुबा कलाप्रेमी हुुनुहुन्थ्यो । सँगै राजनीति पनि गर्नुहुन्थ्यो । सानैदेखि गीतसंगीतमा रुचि थियो । बुवाको प्रेरणाले पनि मलाई गीतसंगीतमा रुचि बढाएको हुनुपर्छ । बुबा देउडा राम्रो गाउनुहुन्थ्यो । देउडाका खेलाडीकै रूपमा बुबा चिनिनुहुन्थ्यो । बुबाले मलाई पनिसँगै लिएर देउडा गाउने ठाउँमा लैजानुहुन्थ्यो । मैले पनि बुवासँगै हिँडेर देउडा गाउन सिकेँ । मैले गाउँकै त्रिभुवन माध्यमिक विद्यालयमा प्राथमिक शिक्षा सुरु गरेँ । कक्षा सातसम्म मैले सोही विद्यालयमा पढेँ । दिउँसोको समयमा पढ्न जाने र बिहान साँझ घाँस दाउरा काट्न र गाइगोठाला जानुपथ्र्यो । गाईगोठाला जाँदा कहिलेकाहीँ रमाइलो हुन्थ्यो ।

बाल्यकालमा एक पटक बद्मासी गरेको सम्झना छ । गाउँमा धामी बाजे हुनुुहुन्थ्यो । गाईगोठाला जाँदा हामीलाई बढी गाईवस्तु हेर्न पठाउने गर्नुहुन्थ्यो । आफू भने एकै ठाउँमा बसिरहने गर्नुहुन्थ्यो । हामीलाई भने कति काम लगाएको भनेर मनमनै रिस उठ्थ्यो । एक दिन बाजे सुतिरहनु भएको थियो । उहाँको लामो टुप्पी थियो । एक दिन उहाँले थाहा नपाउने गरी हामीले उहाँको टुप्पी रुखमा लिएर बाँधीदियौं । एउटा हात अर्को रुखमा लिएर बाँधीदियौं । अर्को हातमा गोबर राखेर मुखमा आगो सल्किने गरी राखिदियौं । आगो सल्कदै गएर मुख पोले छ । उहाँले गोबर भएको हातले मुखबाट आगो निभाउँदा गोबर लाग्यो । हामी नजिकै हेरेर बसेका थियौँ । पछि उहाँले हामीलाई देखेर लखेट्नुभयो ।

मलाई गीतसंगीत पछि खेलमा फुटबल खेल्न मन पथ्र्यो । साथीभाहरुसँग रमाइलो गर्न खेल्ने, रमाउने गरिन्थ्यो । बाल्यकालका ती सम्झना अझै पनि ताजा नै लाग्छन् । गाउँमा मेला लागिरहन्थे । साथीभाईहरुसँग मेला हेर्न जान्थ्यौं । चाडपर्वको समयमा रमाइलो हुन्थ्यो । नयाँ कपडा लगाउने, मिठो खाने अनि आफन्तकोमा जाने भएकाले पनि चाडपर्व रमाइलो लाग्थ्यो । गाउँबाट धेरै हाट जाने भनेर नेपालगन्ज जान्थे । बुबा नेपालगन्जबाट आउने दिन नयाँ कपडा लगाउन पाइन्थ्यो ।

म बाल्यकालमा चञ्चले स्वभावको थिएँ । अहिले पनि त्यस्तै छु कि भन्ने लाग्छ । तर बुबालाई भने मन पर्दैनथ्यो । बुबाले आफूसँगै देउडा गाउन लिए पनि मेरो चञ्चले स्वभाव भने मन पराउँनु हुँदैनथ्यो । एक पटक मैले गीत गाएर विद्यालयमा प्रथम भएको थिएँ । प्रथम भएपछि मैले एउटा सानो मादल पुरस्कार पाएँ । मादल पुरस्कार पाएपछि खुशी हुँदै घर गएको त बुबाले गाली गर्नुभयो । गाईभैसीको छालाले बनाएको मादल घरभित्र ल्याउने भनेर गाली गर्नुभयो । त्यो मादल घरभित्र राख्न दिनु भएन । यसै विषयमा बुबासँग ठूलै झगडा प¥यो । म सानै थिएँ । बाह्र वर्षको मात्र पुगेको थिएँ । मादल घरभित्र लिन नदिएको निहुँमा मैले घर नै छोडेर हिँडे । घरको अवस्था पनि नाजुक थियो । भाइबहिनी सानै थिए । त्यस कारण पनि केही काम गर्छु भनेर म सुर्खेत आएँ । चार–पाँच दिन लगाएर हिँडेर नै म सुर्खेत आएँ ।

वीरेन्द्रनगरको एउटा होटलमा केही महिनासम्म काम गरेँ । जागिर खाएर मात्र घर जान्छु भन्ने अठोटले निस्केको थिएँ । केही समयसम्म सुर्खेतमा काम गरेपछि नेपालगन्ज गएँ । त्यहाँ पनि केही समयसम्म होटलमै काम गरेँ । त्यसपछि इन्डिया गएँ । सानो भएकाले गाह्रो पनि हुन्थ्यो । काम गरेपछि मात्र खान पाइने भएकाले पनि काम गर्नु पर्ने हुन्थ्यो । ठूलो हुँदै गएपछि केही पैसा पनि कमाइ भएको थियो । त्यसपछि घर गएर पढ्छु भनेर आउँदा बाटोमा पैसा चोरले लुटि दिए । त्यसपछि नेपालगन्जमा आएर काम गरेँ । कक्षा पाँचमा भन्दा माथिका लागि सरकारी जागिर खान पाइन्थ्यो । मैले कार्यालय सहयोगीको रुपमा काम गरँे । २०५५ सालदेखि वन कार्यालयका वन प्राविधिकका रुपमा स्थायीमा जागिर सुरु गरेको हुँ । बाल्यकालमा नपढे पनि अहिले आएर पढ्न थालेको छु । यो वर्ष मात्र एसईई पास गर्न सफल भएँ । कक्षा ११ मा शिक्षाशास्त्र संकाय अन्तर्गत पढ्दैछु । जागिर, पढाइसँगै कलाकारितालाई पनि अघि बढाएको छु ।