कर्णालीमा भाइरल प्रकोप

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । सल्यान अस्पतालका अनुसार केही दिनयता अस्पतालमा बिरामीको चाप बढेकोमा अधिकांश बिरामी भाइरल ज्वरो तथा रुघाखोकीका रहेका छन् । अस्पतालमा जाँच गराउन आउने बिरामीमा दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको रहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा. प्रदीप शर्माले जानकारी दिए । ‘सल्यान जिल्ला अस्पतालमा सामान्य अवस्थामा तीन देखि पाँच जनासम्म ज्वरोका बिरामी आउँछन् तर केही दिनदेखि ज्वरोको बिरामीको चाप बढेको छ । त्यसमा पनि अधिकांश बिरामी भाइरल ज्वरोको नै रहेका छन्’ जिल्ला अस्पतालल सल्यानका डा. शर्माले भने ।

भाइरल ज्वरो तथा रुघाखोकी सरुवा रोग भएको र एक अर्कामा छिट्टै सर्ने भएकोले बिरामी बढेको उनको भनाइ छ । अहिले मौसम परिवर्तनको समय भएकोले ज्वरोका बिरामी जिल्लाभरी नै बढेको डाक्टर शर्माको भनाइ छ । ‘अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ’ उनले भने, ‘स्थानीय तहका स्वास्थ्य संस्थाले रिफर गरेका बिरामीको संख्या पनि बढेको छ ।’ ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकांशको जिल्ला अस्पतालमै उपचार गरिएको छ भने जिल्लामा उपचार सम्भव नभएकालाई भने रिफर गरिएको डा. शर्माले बताए ।

यस्तै रुकुम पश्चिममा पनि केही दिनयता भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा बिरामीको भीड थेगि नसक्नु रहेको चिकित्सकले बताएका छन् । अस्पताल प्रमुख डा. महेश चौलागाईंले दैनिकजसो आउने बिरामीमा एउटै लक्षण देखिने गरेका बताए । अधिकांशलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने समस्या छ । प्रयोगशाला परीक्षणबाट ती बिरामीमा भाइरल ज्वरोका देखिएको उनले बताए । ‘यस्ता लक्षण बताएर आउने बिरामीको ल्याब टेस्ट गर्ने गरेका छौं । त्यस्तो असमान्य रिपोर्ट कसैको छैन’ उनले भने, ‘यसले बिरामीमा भाइरल ज्वरोको पुष्टी हुन्छ ।’

अस्पतालमा दैनिक दुई सय ५० जनासम्म बिरामी आउने गरेका छन् । जिल्ला अस्पतालका साथै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी अस्पताल र मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी उत्तिकै बढेका छन् । भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा बढी ग्रस्त छन् । बाँफिकोट गाउँपालिका–२ को स्वास्थ्य चौकीका इन्चार्ज सन्देश चन्दले साउन अन्तिमदेखि भाइरल ज्वरोका बिरामी बढेको बताए । स्वास्थ्य चौकीमा आउने हरेकसँग बुझ्दा एउटै लक्षण बताउने गरेको उनको भनाइ छ ।

‘भाइरल ज्वरोले गाउँमा धेरैलाई सताएको छ,’ उनले भने, ‘कतिपय स्वास्थ्य चौकीमा आउँछन्, कति त मेडिकल र अरू अस्पतालमा जान्छन् ।’ भाइरल ज्वरोका बिरामी बढेपछि गाउँमा औषधि भने अभाव हुन थालेको उनले बताए । जिल्ला अस्पतालमा पनि एउटै प्रकारका औषधि दिनुपर्दा अभाव देखिन थालेको छ । रुकुम र सल्यानमा मात्रै होइन कर्णालीका सुर्खेत, जाजरकोट, मुगु, डोल्पा लगायतका जिल्लाहरूमा पनि केही दिनयता भाइरलको प्रकोप देखिएको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०७६, सोमबार १२:०६