प्राङ्गारिक कृषि विधेयक पारित

सुर्खेत : प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । आइतवार बसेको कर्णाली प्रदेशसभाको बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन् । यसअघि नै संसदमा पेश गरिएको विधेयक संशोधनसहित पारित गरिएको हो ।

त्यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद अम्मरबहादुर थापाले कर्णालीलाई अर्गानिक बनाउने घोषणा गरे पनि यसको गति सुस्त भएको टिप्पणी गरेका थिए । उनले गाउँमा रासायनिक मल रोक्ने तर प्राङ्गारिक मलको व्यवस्था गर्न सरकारले नसक्दा जनताले दुःख पाएको बताए ।

यसैबीच आइतवारको बैठकमा सांसदहरूले सुर्खेतमा चौपाया मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद पद्मा खड्काले ५ नं. प्रदेशले गैरकानुनी रूपमा गाई–गोरु पठाउनु आपत्तिजनक भएको बताइन् । साथै उक्त घटनाबारे प्रदेश सरकार मौन रहनु निन्दनीय भएको टिप्पणी पनि गरिन् ।

त्यस्तै सांसद विन्दमान विष्टले सडकका छाडा चौपायाको दिगो व्यवस्थापनको लागि वैज्ञानिक विकल्प खोज्नुपर्ने बताए । ‘बुढाखाडा गाईगोरु जसको कुनै उपयोग छैन ती दैलेखले किन मगायो ?’ विष्टले प्रश्न गरे । सांसद सीताकुमारी नेपालीले समेत दैलेखमा गाईगोरु मगाउने र नेपालगन्जबाट पठाउने तर सुर्खेत डम्पिङ्ग साइडको रूपमा प्रयोग भएको बताइन् । विशेष समयमा बोल्दै सांसद सुशील थापाले समेत गाई–गोरुको मृत्यु नभइ हत्या गरिएको हुन सक्ने बताए । संसदमा विशेष समय लिएर बोल्ने अधिकांश सांसदहरूले गाई–गोरु मृत भेटिएको घटनाको विरोध गरे ।

प्रकाशित मितिः   २३ भाद्र २०७६, सोमबार १२:०४