कर शिक्षा दिनुपर्नेमा जोड

सुर्खेत : सुर्खेतका व्यवसायीहरूले पछिल्लो समय परिवर्तित कर नीतिमा व्यवसायीहरू अभ्यस्त नभइसकेको हुँदा सुरुमै दण्डात्मक भन्दा पनि चेतनामूलक अभियानमा जोड दिन आग्रह गरेका छन् । पछिल्लो समय आएका अनिवार्य व्यक्तिगत अस्थायी लेखा नम्बर, सामाजिक सुरक्षा ऐन, भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ्ग सिष्टम, सामान ढुवानीमा मूल्य अभिवृद्धि करलगायतका विषयमा थुप्रै व्यवसायीहरू अनभिज्ञ रहेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा भएको परिवर्तित कर नीति तथा कर शिक्षा सम्बन्धी अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागीहरूले आन्तरिक राजस्व कार्यालय सुर्खेतसँग सुझावसहितको आग्रह गरेका हुन् । कतिपय व्यापारीहरू औपचारिक शिक्षाका साथै कर शिक्षा र अनुभवको अभावका बीच पनि व्यवसाय सञ्चालन गरेर राज्यलाई कर तिरिरहेको जिकिर गर्दै उनीहरूले सुरुमै कानूनी डण्डा चलाउनुभन्दा जागरुक बनाउने कार्यमा जोड दिन सुझाव दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरूले नियतवश नभइ अञ्जानमा कानूनको भागीदार बनिरहेको जिकिर गर्दै नियमितजसो परिवर्तन हुने कर नीतिका कारण पनि व्यवसायीहरू समस्यामा परिरहेको उल्लेख गरे । यस्तै संघका कोषाध्यक्ष भद्र भण्डारीले व्यवसायीहरू बद्मास नै हुन्छन् भन्ने पूर्वाग्रहीपूर्ण सोचका कारण पनि व्यवसायीहरू राज्यसँग त्रसित हुनुपर्ने अवस्था विद्यमान रहेको गुनासो गरे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख भूमिराम शर्माले सुर्खेत लगायत यस प्रदेशका व्यवसायीहरूले देखाएको इमान्दारिताकै कारण आप्mनो कार्यालय देशभरकै उत्कृष्ट कार्यालय बन्न सफल भएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा एक अर्ब एक लाखको लक्ष्य रहेकोमा एक अर्ब ३५ करोड राजस्व संकलन भएको जानकारी दिंदै उनले यो आवमा एक अर्ब ८९ करोडको लक्ष्य पाएको उल्लेख गरे ।

‘देशभरका ३८ वटा आन्तरिक राजस्व कार्यालयमध्ये हामी सबैभन्दा प्रथम हुन सफल भयौं’ प्रमुख कर अधिकृत शर्माले भने, ‘यो सबै तपाईंहरूको इमान्दारिता र राज्यप्रतिको जिम्मेवारीबोधकै कारण सम्भव भएको हो ।’ संघका सचिव रामप्रसाद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष लगायत विभिन्न व्यापारी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २१ भाद्र २०७६, शनिबार १२:५९