शर्माको उपचारमा सञ्चारिकाको सहयोग

सुर्खेत : सञ्चारिका समूह कर्णाली प्रदेशले पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरेको छ । समूहले शर्माको बोनम्यारो प्रत्यारोपणका लागि नगद पाँच हजार रूपैयाँ प्रदान गरेको हो ।

उक्त रकम सञ्चारिका समूह कर्णाली प्रदेशका महासचिव विमला खड्का र कोषाध्यक्ष सिर्जना बुढाथोकीले मंगलवार शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै महासचिव खड्काले पत्रकार शर्माको उपचारका लागि सहयोग पुगोस् भनेर समूहले पाँच हजार रूपैयाँ प्रदान गरेको बताइन् । यस्तै कोषाध्यक्ष बुढाथोकीले पनि सबैको सहयोगले शर्माको बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक रकम जुट्ने भएकाले समूहका तर्फबाट नगद सहयोग गरिएको बताइन् ।

साझा बिसौनी दैनिकका संवाददाता शर्माको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । उनको बोनम्यारो प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि सहयोग संकलन भइरहेको साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः   १८ भाद्र २०७६, बुधबार १२:२५