महिलामाथि बलात्कारको बर्बरता
सुर्खेत : छिमेकीको घरमा तीजको नाच हेरेर फर्कदैं गर्दा गुर्भाकोटका दुई बालिका बलात्कृत हुन पुगे । यस्तै गुर्भाकोट नगरपालिकाकै ५२ वर्षीय लोकबहादुर कामीले आफन्तकै ११ वर्षीय छोरीलाई बलात्कार गरे । भेरीगंगा नगरपालिकाका एक युवाबाट आफ्नै छोरी बलात्कृत भएको घटना प्रहरीमा दर्ता भयो ।
उल्लेखित घटनाहरूले छोरीहरू धर्तीमा पाइला टेक्ने बित्तिकैबाट कसरी असुरक्षाको दलदलमा फँस्दारहेछन् भन्ने तथ्यलाई उजागर गरेका छन् । त्यतिमात्र होइन आमाको काखमा खेल्ने दुधे बालिकासमेत बलात्कारमा पर्न थालेको घटनाले हिंस्रक र संवेदनाहिन बन्दै गएको समाजको चित्र समेत देखाउँछ ।
अर्कोतर्फ हरेक वर्ष प्रहरी अदालतसम्म पुग्ने बलात्कारका घटनाहरूले पनि महिला तथा बालिकाहरूमाथि भइरहेका बर्बरताको दृष्टान्त बताउँछन् । कर्णाली प्रदेशमा पनि यस्तो बर्बरताको रूप निकै डरलाग्दो देखिन्छ । किनभने पछिल्लो चार वर्षमा मात्रै कर्णाली प्रदेशमा दुई सय भन्दा बढी महिला तथा बालिकाहरू बलात्कृत भएको तथ्यांक प्रहरीसँग छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७२÷०७३ यताको चार वर्षको अवधिमा कर्णालीमा दुई सय ६७ जना महिला र बालिका बलात्कृत भएका छन् । कर्णालीमा सबैभन्दा धेरै हुने अपराधमध्ये आत्महत्यापछि बलात्कार दोस्रो स्थानमा छ ।
प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी बलात्कारका घटना सुर्खेतमा भएका छन् । चार वर्षको अवधिमा सुर्खेतमा एक सय १४ वटा बलात्कारका घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष २०७२÷०७३ मा २९, आ.व. २०७३÷०७४ मा २६, आ.व. २०७४÷०७५ मा २३ र आ.व. २०७५÷०७६ मा ३६ वटा बलात्कार सम्बन्धिका उजुरी प्रहरीमा आएका छन् ।
यस्तै दैलेखमा २२ वटा, जाजरकोटमा २१ वटा, सल्यानमा ३३ वटा र रुकुम पश्चिममा १५ वटा बलात्कारका घटना भएको पाइएको छ । त्यसैगरी जुम्लामा १५ वटा, डोल्पामा तीन वटा, मुगुमा ६ वटा र कालिकोटमा १९ वटा बलात्कारका घटना हुँदा हुम्लामा भने यो चार वर्षमा बलात्कारका एउटा घटना पनि नभएको प्रहरीले जनाएको छ । यद्यपी यो प्रहरीमा उजुरी गरिएका घटनाहरूको तथ्यांक मात्र हो । बलात्कार सम्बन्धिका कतिपय घटना प्रहरी र अदालतसम्म नै नपुग्ने गरेको बताइन्छ ।
विशेष गरेर आफन्तबाट हुनेगरेका त्यस्ता अपराध लुकाउने गरिएको प्रहरी बताउँछ । सार्वजनिक भई उजुरी तथा मुद्दा दर्ता भएका बलात्कारका घटनाको तथ्यांक मात्र प्रहरीसँग छ । त्यस बाहेक घर–समाजको डर, धाकधम्की, ज्यानकै जोखिम हुने, बेइज्जतीको डर आदिका कारण धेरै पीडित महिला, किशोरी तथा बालिकाले आफूमाथिको अत्याचार सार्वजनिक गर्नसकेका छैनन् । लालन–पालन तथा शिक्षादीक्षा दिने वहानामा घरमा राखेर ललाइ–फकाइ तथा धम्काएर गरिने बलात्कार तथा यौन दुव्र्यवहारका घटना भित्रभित्रै भइरहेका अधिकारकर्मीहरू पनि बताउँछन् । भेरीगंगाका एक युवकले कोठा सफा गर्ने वहानामा छोरीलाई बोलाएर बलात्कार गरेको घटना यसैको एक उदाहरण हो ।
दर्ता भएका घटनालाई हेर्ने हो भने पनि बलात्कारका धेरै घटना आफन्तबाटै भएका छन् । बलात्कारका केही घटना अदालतसम्म पुगेका छन् भने केही अनुसन्धानकै क्रममा रहेका छन् । बलात्कारका कतिपय घटना भने प्रहरी कार्यालयसम्म पुग्दैनन् । बलात्कार जस्तो जघन्य अपराध पनि लेनदेनका आधारमा मिलापत्रमा टुंगिने गरेका छन् । विशेष गरी आफन्तबाट हुने बलात्कारका घटना प्रहरीसम्म आइनपुग्ने गरेको प्रहरीको भनाइ छ । कतिपय घटना लुकाइएपनि पछिल्लो समय भने पीडितहरू न्याय खोज्दै प्रहरी र अदालतसम्म पुग्ने गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले अनुसन्धानका क्रममा आफन्तबाटै बढी बलात्कारका घटना हुने गरेको पाइएको जानकारी दिए ।
प्रकाशित मितिः १८ भाद्र २०७६, बुधबार १२:२०
साझा बिसौनी ।