ईश्वर को हुन् ?

मास्टर जेबी गाउँले
मास्टर जेबी गाउँले

सबैलाई नभनौं अधिकांशलाई यसै लाग्दछ, ‘डाक्टर भगवान् हुन ।’ एकहदसम्म यो सत्य पनि हो । किनकी उनीहरूले मर्न लागेका बिरामीहरूलाई पनि उपचार गरेर पुनर्जिवन दिएका हुन्छन् ।

तर यसलाई एउटै अर्थले एकै कोणबाट मात्र बुझ्नु पनि गलत ठहरिन्छ । बिरामीलाई उपचार गरेर सन्चो बनाएकै कारण उनीहरू भगवान हुन भन्न मिल्दै मिल्दैन । त्यो त उनीहरूको पेशा हो धर्म हो ड्यूटी पनि हो । ड्यूटीमा आफ्नो कर्तव्य पूरा गर्नु उनीहरूको धर्म पनि हो । जसरी एउटा कारखानाको मजदुरले म मजदुरी गर्दिन भन्न पाउँदैन । उसले बाँच्नकै लागि भए पनि त्यो मजदुरी गर्नै पर्छ । हुनसक्छ, उसले त्यो कारखाना छोड्न सक्ला । कामै छोडेर अर्कै काम गर्छु भन्न पनि पाउँछ । तर काम त उसले गर्नै पर्छ । आफ्नो लागि । आफ्नो परिवारकै लागि भए पनि ।

हो, त्यसरी नै डाक्टरले पनि आफ्नो ड्यूटी त पूरा गर्नै पर्छ । उसले पनि डाक्टर पेशा नै छोडेर अर्कै पेशा अँगाल्न पनि सक्छ, कुनै बन्देज छैन । त्यो उसको स्वतन्त्रताको कुरो हो । विश्वविख्यात रसियन कथाकार एन्टोन चेखोभ पनि डाक्टरी नै पढेका हुन तर उनले आफ्नो पुरै जीवनकाल लेखनमै व्यतित गरेका थिए । हो, त्यसो गर्न पनि सकिन्छ । तर कुनै अस्पतालमा डाक्टर भएर नियुक्ती पाएपछि भने डाक्टरले म बिरामीको उपचार गर्दैन भनेर भन्न पाउदैन । त्यसैले कोही भगवानको उपमा पाउनलाई डाक्टर भएका पनि होइनन् । डाक्टर भएकै कारण तिनलाई भगवान नै भन्नुपर्छ, यो जरुरी छैन । यसको अर्थ तपार्ईंंले तिनलाई भगवान भन्नै पाउनुहुन्न भन्ने हैन । पाइन्छ, मन लागे त्यो भन्न नि पाइन्छ ।

अब कुरो रह्यो उसो भए भगवान को हुन् त ? यी कहाँ पाइन्छ ? तिनी कस्ता हुन्छन् ? यी र यस्ता थुप्रै प्रश्नहरूको जवाफ सजिलो छ, भगवान भनेकै प्रेम हो । यो मान्छे लगायत हरेक प्राणीहरूको हृदयमा हुन्छ । फेरि कुरा आउँला उसो भए के हरेक प्राणी भगवान नै हो त ? अँह ! त्यसो भनिएकै छैन । प्रेम हरेक प्राणीको हृदयमा नहुन सक्छ । सबै–सबै मान्छेभित्र पनि हुन्छ नै भन्ने छैन । अर्को कुरा रह्यो उसो भए ईश्वर कस्ता हुन्छन् त ? तपाईंले आफ्नो आत्मा यानि हृदय कस्तो हुन्छ देख्नु भएको छ ? असम्भव ! त्यसैले भगवान कस्ता हुन्छन् कसैलाई पनि थाहा छैन । तर यति कुरा त हामी कल्पना गर्न सक्छौं कि भगवान सर्वहितकारी हुन्छन्, यिनलाई न नाफाको लालच हुन्छ न त घाटाको डर नै हुन्छ । यसो भनौं न अझैं ईश्वररूपी हृदयमा कुनै खालका स्वार्थ हुदैन । न नामको लोभ न त दामको लालच हुन्छ । अब फेरि कुरा आउन सक्छ, के यस्ता मान्छेहरू पनि यो संसारमा होलान् त ? किन नहुनु छन्, तर एकदमै थोरै मात्रै । त्यसमा डाक्टर पनि छन कि ? छन, डाक्टर पनि छन । डाक्टर मात्रै छैनन् । शिक्षक, वकिल, पुलिस, आर्मी, किसान, उद्योगी, व्यापारी, साधुसन्त सबै क्षेत्रमा छन् तर एकदमै थोरै मात्रामा ।

डाक्टरकै कुरा गर्नुपर्दा फ्लोरेन्स नाइटिङ्गेललाई कसले भगवान् हैनन् भनेर भन्न सक्छ ? उनले क्रिमियाको युद्धमा घाइते सिपाहीहरूको निःस्वार्थ उपचार गरेर जीवन दिइन् । न त उनले भोक छ भनेर टारिन न त निद्रा छ भन्दै पन्छिने काम गरिन । मध्यरातमा मस्त निद्रामा निदाउने समय पनि उनले तिनै बिरामीहरूलाई समर्पित गरिन र त उनलाई हातमा बत्ती लिने केही अर्थात् ‘लेडी विथ द ल्याम्प’को उपमाले संसारले चिन्दछ । यसो भनिरहँदा उनको भौतिक स्वरूपलाई भगवान भन्न खोजेको हैन, उनको त्यो निःस्वार्थ हृदय करुण प्रेम र पवित्र आत्मालाई नै भगवान भनिएको हो । संसारमा यस्ता अरु पनि थुप्रै डाक्टरहरू छन् । नेपालमै पनि छन् । जसलाई आफ्नो जीवनभन्दा बढी तिनै रोगी बिरामीहरूको जीवनको बारेमा चिन्ता र चासो हुन्छ ।

ईश्वर मानव हृदयमा मात्रै हैन अन्य पशुहरू लगायतका सम्पूर्ण प्राणीहरूमा पनि छन् । त्यसको एउटा ज्वलन्त उदाहरण यो पनि हो । भलै यो एउटा कथा होला । कथा साँच्चिकै हैनन् काल्पनिक कुराहरू हुन भन्नेहरूलाई यसमा विश्वास नलाग्न पनि सक्ला । तर यो कथा झुटो भए पनि साँचो भएपनि यहाँनेर जोड्न सान्दर्भिक लाग्यो ।

“न्याउरी मारी पछुतो” यो कथा हामी पढे–लेखेकाहरूले मात्रै हैन अरुहरूले पनि सुनाउने एउटा आदर्श कथा हो । एकजना दम्पती सानो छोरालाई एक्लै घरमा सुताएर काममा निस्किन्छन् । जब साँझ कामबाट फर्किन्छन् उनीहरूले पिँढीमा खुन देख्छन् र आत्तिन्छन् । उनीहरूलाई सानो छोरालाई कसले मारिदिएछ भन्ने लाग्छ । न्याउरी त्यही पिँढीमै हुन्छ । उनीहरूको रिस र आक्रोशको सिमा रहदैन । भित्र गएर छोराको हाल नै नबुझेर तिनीहरू त्यो न्याउरीलाई मारिदिन्छन् । जबभित्र जान्छन् बच्चाकै छेउमा एउटा डरलाग्दो गोमन साँपलाई टुक्रा–टुक्रा पारेर मारिएको देख्छन् । बच्चालाई हेर्छन् उसलाई केही पनि भएको हुँदैन ऊ सकुशल हुन्छ । त्यसपछि भने उनीहरूलाई लाग्छ आज त्यो न्याउरी नभएको भए आफ्नो बच्चाको ज्यान यो साँपले लाने रहेछ । विचरा त्यो निर्दोष न्याउरीलाई अनाहकमा मारेकोमा उनीहरूलाई पश्चातापको आगोले पोल्न थाल्छ । यो कथाबाट के कुरो प्रष्ट हुन्छ भने हामिले सुन्दै भन्दै आएको ‘कोही नहुनेको भगवान हुन्छन्’ भन्ने उखान चरितार्थ देखिन्छ । यहाँ यदि त्यो नाउरी नभएको भए त्यो बच्चाको ज्यान रहने थिएन । ऊ त्यो बच्चाको लागि साक्षत भगवान हो । यहाँ पनि मैले न्याउरीको स्वरूपलाई भगवान भन्न खोजेको हैन । ऊ भित्रको त्यो निःस्वार्थ हृदय पवित्र आत्मा भगवानको रूपमा प्रकट हुन्छ जसले त्यो अबोध बालकलाई सर्पबाट जोगाएर पुनर्जीवन दिएको थियो । त्यसकारण पनि हाम्ले यो कुरो प्रष्ट बुझ्न सक्छौं कि भगवान हरेक प्राणीमा बिराजमान छन् ।

अब अर्को एउटा कथा । यो कथा भन्दा नि सत्य घटना नै हो । केही दिन अगाडि मात्रै मैले बीबीसी नेपाली सेवामा सुनेको थिएँ, स्वयम्सेवी आमाहरूको कथा । ललितपुर बालकुमारीमा असहाय अनाथ बालबालिका लागि बालमन्दिर नामको एउटा आश्रम खोलिएको रहेछ । त्यहाँ तिनै अनाथ बालबालिकाहरू लागि स्तनपान गराउन भनेर केही स्वयम्सेवी आमाहरू भक्तपुरबाटै आउँदा रहेछन् । समय नहुनेहरूले आफ्नो दूध बोतलमा हालेर बालमन्दिरलाई पठाइँदिदा पनि रहेछन् । उनीहरूलाई न केही पाउने लालच छ न त केही गुमाउने त्रास नै । बस ती असहाय अनाथ बालबालिकालाई टाढाबाट आउनु परे पनि आफ्नै बच्चा सम्झेर स्तनपान गराइरहेका छन् । ती बेसाहारा बच्चाहरूलाई निःस्वार्थ स्तनपान गराएर जीवन दिने आमाहरू अनि सडक पेटीमा डस्टविनमा फ्याँकिएका बच्चादेखि आमाबाबू नभएका असहाय बच्चाहरूलाई आश्रममा ल्याएर पुनर्जीवन दिने बालमन्दिरका सञ्चालक भन्दा ठूला भगवान अरु को हुन सक्लान् ? यहाँनेर पनि उनीहरूको प्रेम, दया, माया, करुणा र सेवा भावलाई नै ईश्वरको रूपमा चित्रण गर्न खोजिएको हो । यस्ता अरु पनि थुप्रै कथा घटनाहरू छन । ती सब लेखेर सुनाएर साध्य पनि हँुदैन । यहाँ त केही उदाहरणको रूपमा केही प्रतिनिधि कथा तथा घटनाहरूलाई जोड्न खोजिएको हो । ताकि ईश्वर को हो ? यी कस्ता हुन्छन् भनेर प्रष्ट्याउन सकियोस् ।

अन्तमा, हामी दिनदिनै मन्दिर, मस्जिद, चर्च, गुम्बाहरूमा जान्छौं । भगवानलाई फलफूल चढाउँछौं, धेरथोर रूपैयाँ–पैसा पनि चढाउँछौं र प्रार्थना गर्छौं । अनि मख्ख पर्दछौं भगवानलाई भक्तिभाव गरेकोमा, पूजापाठ गरेकोमा । त्यो सब देखेर भगवान् खुशी हुन्छन् या हुँदैनन् थाहा छैन । तर हामी भने बिछट्टै खुशी भएका हुन्छौं । त्यही मन्दिरको बाहिरपट्टि कैयौं असहाय व्यक्तिहरू दुई÷चार पैसा माग्दै सडक पेटीमा लहरै बसेका हुन्छन् । हाम्लाई त्यसको कुनै प्रवाह हुन्न । ती मन्दिर, मस्जिदमा हजारौं हजार खर्च गर्न सक्नेले मागेर गुजारा चलाउने ती असहायलाई दुई÷चार पैसा दिन पनि लोभ लाग्छ । र अर्कैतिर मुन्टो फर्काएर हिँड्दिन्छौं । अब हाम्रो यो ईश्वरभक्ति हाम्रो कर्मकाण्डी पूजापाठलाई कुन रूपमा विश्लेषण गर्ने त ? त्यसैले म त भन्दछु, ईश्वर न मन्दिरमा छन्, न मस्जिदमा । न चर्चमा, न गुम्बा, गुरुद्वाराहरूमा नै । छन् त केवल हरेक प्राणीहरूको हृदयमा व्याप्त छन् । आफूभित्रको त्यो ईश्वरीय भावलाई जगाउनु हरेक सचेत मानवको धर्म हो । सच्चाधर्म भनेकै सेवाभाव हो । सबै मानिसहरूमा यो सेवाभाव जिउँदो भयो भने यो संसार एक दिन मानव हैन ईश्वरै ईश्वरको संसार हुनेछ ।

(सुर्खेतको मटेला निवासी लेखक गाउँले
हाल काठमाडौंमा छन् ।)

प्रकाशित मितिः   १७ भाद्र २०७६, मंगलवार ११:३१