पाँच वर्षदेखि पुल अलपत्र

जाजरकोट : छिन्चु–जाजरकोट खण्डमा यातायात सञ्चालन भएको ११ वर्ष बित्यो । सडक कालोपत्र भएको पनि ४ वर्ष बितेको छ । तर उक्त सडकमा पर्ने पासागाड खोलामा पुल निर्माण ५ वर्षदेखि अलपत्र छ ।

पुल निर्माणका लागि ५ वर्षअघि ठेक्का सम्झौता भएको थियो । खलंगाको प्रवेशद्वार मानिने खोलामा पुल बन्न ढिलाइ हुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पुल नहुँदा वर्षायाममा पटकपटक यातायात सेवा अवरुद्ध हुने गरेको छ । खोलामा आएको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती भएको हो । पुल नबन्दा बाढी आएको बखत रातभर सवारी साधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीमबहादुर बुढाले बताए । ‘दैनिक डोजर लगाएर ट्रयाक नबनाए यातायातका साधन वारपार हुन सक्दैनन्,’ उनले भने, ‘जबरजस्ती खोलामा गाडी हाल्दा फस्ने र बगाउने समस्या छ ।’

पासागाड खोलामा गलत डिजाइनका कारण ५ वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको हो । परामर्शदाता कम्पनीले सात लाखको लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै सुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालय, चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।

प्रकाशित मितिः   १३ भाद्र २०७६, शुक्रबार १३:१०