निर्दोषलाई न्याय देऊ
श्रावण २० गते चितवनको नारायणघाट स्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडाशैनी मृत अवस्थामा फेला परे । उक्त होटलका सञ्चालकले प्रहरीमा जानकारी गराएपछि प्रहरीले पुडाशैनी बसेको कोठाको ढोका खोली घटनास्थल आफ्नो नियन्त्रणमा लिएको थियो । मृतक पुडाशैनी एउटा खुट्टा खाटमा टेकेर फ्यानमा झुण्डिएको अवस्थामा थिए । भने उनको शरीर र तीघ्रामा निलडामहरू रहेको कुरा पनि खुलेको थियो । यो घटना आत्महत्या वा कसैले मारेर झुण्डाएको हो भन्ने कुरा खुलेको थिएन ।
यो घटना क्रम भएको सात दिनपछि एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यो भिडियोमा पुडाशैनीले आत्महत्या गर्नुअघि उनकै मोबाइलमा रेकर्ड गरेको दाबी प्रहरीले गरेको छ । सो भिडियो ‘नेपाल आज’ नामको अनलाइनलाई पत्रकार किशोर श्रेष्ठले पठाएका थिए र नेपाल आजले सामाजिक सञ्जालमा प्रसारण गरेको थियो । उक्त भिडियो प्रहरीले सार्वजनिक गरेको छैन भनेर चितवनका प्रहरी प्रमुख दाबहादुर मल्लले सञ्चार माध्यममा जानकारी गराएका छन् भने उनले भनेका छन सामाजिक सञ्जालमा पुडाशैनीले रेकर्ड गरी आरोप लगाएको भिडियो छ्यासछ्यास्ती आएपछि आरोपित व्यक्तिहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई सोही रेकर्ड भिडियोको आधारमा पक्राउ गरेको जानकारी दिएका छन् । उनले उल्लेख गरेका यिनै दुईवटा प्रसंग नै विवादित छन् । पहिलो प्रशंग प्रहरीको नियन्त्रणमा रहेको घटना स्थलबाट पुडाशैनीको मोबाइल प्राप्त भएको छ त्यो मोबाइल र त्यसमा रहेको भिडियो प्रहरीको नियन्त्रणमा हुनुपर्ने हो । दोस्रो प्रशंग चितवन प्रहरी प्रमुखले प्रहरीले भिडियो सार्वजनिक गरेको छैन भनेका छन् प्रहरीले सार्वजनिक नगर्दै त्यो भिडियो कसरी पत्रकार किशोर श्रेष्ठसँग पुग्यो र सामाजिक सञ्जालमा सार्वजनिक भयो ? त्यसरी सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा तिनै जनालाई पक्राउ गरियो । उक्त भिडियो अदालतमा पेस गरी आरोपित व्यक्तिहरूलाई पक्राउको लागि अदालतले पक्राउ पूर्जी जारी गर्नु पर्दथ्यो पक्राउ पूर्जी पनि जारी नगरी न्यूज २४ टेलिभिजनको स्टुडियोबाटै हतार–हतार पक्राउ गर्नुपर्ने परिस्थिति किन आयो यो कुरा प्रहरीले खुलाएको छैन । यो घटनाले कानुनी राज्यको कतै खिल्ली उडाइएको पो हो की वा कुनै षड्यन्त्र हुँदैछ ? यो खोजीको विषय हो ।
होटल कंगारुमा भएको पुडाशैनी आत्महत्या हो की हत्या हो भन्ने कुरामा छानविन गरेको दैखिदैन । पहिला त हत्या कि आत्महत्या त्यसको निक्र्यौल गर्नुपर्ने हो । घटना भएको सात दिनसम्म पनि प्रहरीले यो विषयमा किन छानविन गरेन ? होटल सञ्चालकलाई केरकार गरेको पनि पाइदैन । होटलमा घटना भएको दिन पनि ग्राहकहरू थिए होला उनीहरूको पनि सोधीखोजी गरेको पाइदैन । सात दिन सम्म पनि कुनै कुराको पनि खोजी नीति नगरी श्रावण ३० गते सार्वजनिक भएको रेकर्ड भिडियोको आधारमा रवि लामिछाने लगायतको टिमलाई एक्कासी हतार–हतार गरेको पक्राउले केही खास सवालहरू उत्पन्न गरेको छ । कौतुहलता उत्पन्न गरेको छ । कतै यो घटना ‘एकतिर दो सिकार’ त होइन ? शंका गर्ने प्रशस्त ठाउँहरू यसमा रहेको पाइन्छ । यसै सन्दर्भमा उठेका केही शंकाका सवालहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
– भित्रबाट लक भएको ढोका प्रहरीले खोल्दा आवत जावत गर्न मिल्ने उक्त कोठाको झ्यालको विषमा किन छानविन गरेन ? कोही झ्यालबाट निस्केको थियो कि थिएन वा के हो भन्ने कुरामा केही पनि खुलेको पाइदैन ।
– मृत शरीरको एउटा खुट्टा विस्तारमा टेकेको अवस्थामा थियो । विस्तराको वरपर टेवल कुर्ची लडेको अवस्था देखिदैन पंखामा झुण्डिएको अवस्था देखिएको छ । उ कसरी झुण्यिो टेवल, कुर्चि वा अन्य टेक्न मिल्ने साधन विना जस्लाई झुण्डी सके पछि खुट्टाले दायाँवायाँ फाल्न मिलोस । उ एक्लैले पक्कै पनि आफ्नो शरीरलाई तानेर पंखा तिर उचाल्न सकेन होला ।
– घाँटीमा लागेको लुज डोरीले कसरी उसलाई मार्न मद्दत ग¥यो ? यो र माथी उल्लेखित विषयमा प्रहरीले छानविन किन गरेन ?
– घटनास्थलमा पहिला प्रहरी पुगेपछि घटनाका सम्पूर्ण सवुत प्रहरीको पासमा हुनुपर्छ । पुडाशैनीको मोबाइल, झोला, क्यामेरा वा अन्य उनले बोकेका सामानहरू प्रहरी नियन्त्रणमै हुनु पर्ने हो । तर प्रहरीले ठुलो सवुत मानेको भिडियो किशोर श्रेष्ठको हातमा कसरी पुग्यो ?
– सामाजिक सञ्जालमा शालिकरामले रेकर्ड गरेको भनिएको भिडियो आइसकेपछि मात्र किन छानविन अगाडि बढाइयो ? घटना लगत्तै हत्या हो की आत्महत्या हो भन्ने कुरामा त छानविन केन्द्रित गर्नुपर्ने हो नि । होइन र ?
– आत्महत्या गर्नुअघि पुडाशैनीले रेकर्ड गरेको भिडियो उपर किन छानविन भएन ? उक्त भिडियो पुडाशैनी आफैले खिचेका हुन होइनन् ? यदि आफैले खिचेका हुन भने नमस्कार गर्दा मोबाइल कता अड्याएका थिए ? सुतेको अवस्थामा खिचिएको भिडियोमा मोबाइल कहाँ झुण्डियो ? भिडियोमा सेतो सिरानी एक्कासी उनको सिरानमुनी आएको छ भिडियो खिच्दै सिरानी कसरी ल्याएर हाले ? भिडियोमा देखिएका यी र यस्ता विषय उपर किन छानविन भएन ?
– उनले भिडियोमा लगाएको कपडामा सेतो गन्जी छ भने झुण्डिदा सर्ट लगाएको अवस्था छ यो कसरी फरक परेको हो ?
– भिडियो रेकर्ड कहिले भएको हो कति बजे भएको हो भन्ने कुरा पनि स्पष्ट छैन, किन ?
– उनले भिडियोमा लगाएको आरोप कतिसम्म सत्य तथ्य हो भन्ने कुराको पनि खोजतलास जरुरी छ । किन कि आरोप लगाउँदैमा पनि त्यो सवुत हुन सक्दैन । भिडियोमा भनिए जस्तै तलब कम भएको, ऋण तिर्न नसकेको, अस्मिता संग सम्बन्ध जोडिदिएको । यत्ति आरोपले मात्र पनि राता रात स्टुडियोबाटै अपहरण शैलीमा समातिहाल्नुपर्ने अवस्था त देखिदैन । समातियो किन ?
– मृत्युअघि पुडाशैनीको को कोसँग फोन सम्पर्क भएको थियो भन्ने विषयमा उनको कल डिटेल पनि चेक जाँच गरिएको छैन किन ?
उल्लेखित सवालहरूलाई सरसर्ती विष्लेशण गर्दा प्रत्यक स्टेप स्टेपमा अनुसन्धान प्रभावित भएको हो कि भन्ने भान हुन्छ । जसरी निर्मला हत्या प्रकरणमा सवुत मेटाउँदै अनुसन्धान गर्दै गरे जसो गरी । पत्रकार शालिकराम पुडाशैनी पत्रकारिताको क्षेत्रमा उदाउँदा पत्रकार थिए भने रवि लामिछाने उदाइ सकेका पत्रकार यी दुई जनामा एउटाको हत्या र त्यहि हत्यामा अर्कोलाई फसाएर सखाप पार्ने खेल त कतैबाट सुरु भएको होइन ? भन्ने प्रशस्त आधार घटनाक्रमले देखाएको पाइन्छ ।
शालिकरामले २०७५ साल वैसाख १ गते देखि न्युज २४ मा काम सुरु गरी २०७६ साल असार २४ गते सम्म काम गरेका रहेछन् । २०७६ असार २५ गतेबाट उनी माउण्टेन टेलिभिजनमा काम गर्न सुरु गरेका रहेछन् । न्यूज २४ छोडेको करिब दुई महिना सम्म पनि उनले तलव कम दिएको श्रम शोषण गरेको, ठूला व्यापारीहरूबाट लाखौं असुल गरेको कुरा किन मिडियामार्फत् बाहिर ल्याएनन् ? उनको आफ्नो हातमा पनि त मिडिया छ । यो बीचमा रवि लामिछानेले उनलाई फोन वा अन्य माध्यमबाट धम्काएका छन् की वा अन्य खालको हात्महत्या गर्न दुरुत्साहन पुग्ने खालका गतिविधि भएका छन् की कल डिटेल लिएर चुस्त दुरुस्त रूपमा छानविन गरियोस् । कसैलाई फसाउने निउमा दोसीले उन्मुक्ति नपाओस् ।
अहिलेको परिवेशलाई हेर्दा अनुसन्धान हत्याप्रति लक्षित नै छैन । आत्म हत्या हो कि हत्या एकिन नै नगरी ए तर्फी रूपमा आत्महत्या नै हो भनि प्रमाणित भइ सके जस्तो गरी गरिएको अनुसन्धानले आम नागरिकमा प्रहरीप्रतिको विश्वसनियता स्खलित हुँदै गएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका वा सरकार, प्रहरी तथा न्यायालय प्रतिको विश्वसनियता गुमे पछि अन्तिम विकल्प सडक नै हो । त्यसैको प्रति विम्व हो आज चितवन तातिरहेको छ । यो कुनै व्यक्ति विशेषका लागि मात्र होइन सरकार तथा न्यायालयले नागरिकहरूलाई दिलाउन नसकेको विश्वासको प्रतिफल हो । अझै विश्वास गुमाउँदैछ सरकार शान्तिपूर्ण रूपमा आन्दोलनमा निस्केका नागरिकहरूलाई धरपकड, लाठीचार्ज गर्छ, थुनामा हाल्छ । थुनामा परेकालाई रिहाई गर्न पाँच सय रूपैयाँ जरिवाना गर्छ । अदालतमा प्रत्रकारहरूलाई प्रवेश निशेध गर्छ । यो कस्तो खालको लोकतान्त्रिक चरित्र प्रदर्शन गर्दैछ ? लोकतन्त्रको खोल ओडेर सामन्त, नोकर शाही तथा दलाल पूँजीपतिको सेवा गर्ने चरित्र प्रष्ट रूपमा देख्न सकिन्छ यो सरकारको कार्यशैलीमा । सरकारको नेतृत्व गरिसकेपछि नागरिक सर्वोच्चता भुलेछन् कि वा लुटको जालझेलमा परेर संविधानको पाना पल्टाएर हेर्न फुर्सद मिलेन छ कि कसो हो ?
आम नागरिकको अहिलेको चिन्ता न्याय नमारियोस् भन्ने हो । कोही कसैको व्यक्तिगत चरित्र जोगाउन, काला कर्तुतहरूलाई ढाकछोप गर्न र संरक्षण गर्न कोही कसैलाई सिध्याउन लागेका हुन भने तिनीहरूको अब लामो आयु छैन । तत्कालीन राजा महेन्द्रको पञ्चायत ३० वर्ष टिकेन, राजा ज्ञानेन्द्रको निरंकुशता चार वर्ष टिकेन इतिहास साक्षी छ । अहिलेको नेकपा सरकारको निरंकुशता, दलाल पूँजीवाद, सामन्ती चरित्र, पनि लामो समय टिक्न सक्दैन । जनता जनार्दन हुन् । त्यसैले न्याय नमारियोस् सम्माननीय अदालतले न्याय गरोस् रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले न्याय पाउन । शालिकराम पुडाशैनीको मृत आत्माले शान्ति र न्याय पावस् ।
प्रकाशित मितिः १२ भाद्र २०७६, बिहीबार ११:४८
सुशील देवकोटा ।