आजका युवा र शिक्षामा रूपान्तरण

  •  रविकिरण हमाल

सन् १९९९ मा सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेसँगै २००० बाट विश्वव्यापी रूपमा मनाउन थालिएको थियो । परिवर्तनको लागि आवश्यक साझेदारको रूपमा युवाहरूको भूमिकालाई महत्वपूर्ण बनाउन वार्षिक उत्सवको रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यसले विश्वव्यापी रूपमा युवाहरूले सामना गरिरहेका चुनौती र समस्याहरूको बारेमा जागरुकता जगाउने र समाधानको लागि पहल लिन सहज भएको छ ।

‘शिक्षामा रूपान्तरण’ भन्ने नारासहित सन् २०१९ को अन्तर्राष्ट्रिय युवा दिवस संसार भर मनाइयो । विश्वव्यापी रूपमा हजारौं युवाहरू विभिन्न फोरमा सहभागी भएर परिवर्तन ल्याउन अग्रसर भइरहेका छन् । संयुक्त राष्ट्र संघले ‘युवा’ लाई १५ देखि २४ वर्ष बीचका व्यक्तिको रूपमा परिभाषित गरेको छ । यद्यपि युवाको बारेमा विभिन्न देशहरूमा आ–आफ्नै क्राइटेरिया तोकिएको छ । विश्व युवा रिपोर्ट २०१८ अनुसार १५ देखि २४ वर्ष उमेरका १/२ अर्ब युवाहरू छन्, जुन विश्वव्यापी जनसंख्याको १६ प्रतिशत हो । युवाहरूमा भएको सिर्जनात्मकता, ऊर्जा र क्षमताका कारण आफू, समाज र विश्वको बाँकी संसार बदल्न सक्ने सहास हुन्छ ।

यस वर्षको विषयवस्तुले शिक्षालाई समावेशी र सबै युवाहरूको लागि पहुँचयोग्य बनाउने प्रयासहरूलाई महत्व दिएको छ । संयुक्त राष्ट्रसंघले निर्धारण गरेका १७ वटा दिगो विकास लक्ष्यहरू मध्य चौथो ‘समावेशी र न्यायसंगत गुणस्तरको शिक्षा सुनिश्चित गर्न र सबैका लागि आजीवन सिक्ने अवसरहरू प्रवद्र्धन गर्ने’ हो । अन्तर्राष्ट्रिय युवा दिवस २०१९ ले सरकार तथा युवाहरूले नेतृत्व गरेका संगठनहरू कसरी शिक्षालाई रूपान्तरण गर्दैछन् भनेर अनुसन्धान गर्नेछ जसले गर्दा दिगो विकास लक्ष्य २०३० कार्यान्वयन गर्न सहज हुने आशा गरिएको छ ।

शिक्षा भनेको असमानता तोड्दै गरिबीविरुद्ध लड्ने सबैभन्दा शक्तिशाली हतियार हो । हरेक समाजमा शिक्षाले समृद्धि र शान्तिको बाटो प्रदान गर्दछ । शिक्षाले मानिस र समाजको उत्तम भविष्यका लागि आवश्यक आधारशीला निर्माण गर्छ । शिक्षाको गुणस्तर र पहुँच दुवैमा लगानी वृद्धि गर्न सरकार अग्रसर हुनुपर्छ । नेपाल सरकारले केही हदसम्म आधारभूत शिक्षा निःशुल्क गरेपनि के साँच्चै हामीले प्रदान गरेको शिक्षाले आफू सँगसँगै विश्वको बाँकी संसारलाई बदल्न सक्ने नेताहरू, उद्यमीहरू वा विचारकहरू जन्माउने ल्याकत राख्छ कि राख्दैन ? हाम्रो शिक्षा पद्दति र प्रणालीको बारेमा युवाहरू माझ यस्तै विचारको प्रवाह र बहस छलफल आवश्यक छ । युवाहरूलाई केवल औपचारिकताका लागि मात्र पढ्ने भन्दा पनि डिजिटल सञ्चार, उद्यमशीलता र टेक्नोलोजीसँग परिचित बनाउनुपर्छ । युवाले सिकेका आधुनिक सीपहरू अर्को पुस्तालाई सहज रूपमा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्न स्थानीय सरकारले पहल गर्नु आवश्यक छ ।

हाम्रो संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ । निःशुल्क र गुणस्तरीय शिक्षा समाजवादी राज्य निर्माणको महत्वपूर्ण आधार हो । हामीले अहिलेको नेपाली समाजलाई रूपान्तरण गर्नका लागी आलोचनात्मक सोच, बहस र वैज्ञानिक विधि सबैभन्दा महत्वपूर्ण छ । लोकतान्त्रिक संस्थाहरूको विकास र सुदृढीकरणमा योगदान पु¥याएर समाजको शान्तिमय विकासलाई तीव्रता दिनु आजको आवश्यकता हो, यसका लागि लोकतान्त्रिक मूल्य र मान्यताहरूको बारेमा युवाहरूलाई शिक्षा दिनुपर्छ ।

शिक्षालाई रूपान्तरण गर्ने एउटा चाखलाग्दो तरीका भनेको विश्वव्यापी रूपमा सबै युवाहरूको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितता नै हो । तर विश्वका १० मध्ये एक बालबालिका द्वन्द्व क्षेत्रमा बसोबास गर्छन् र उनीहरूमध्ये दुई करोड ४० लाख स्कूल बाहिर छन् । राजनीतिक अस्थिरता, श्रम बजार चुनौती र राजनीतिक तथा नागरिक सहभागिताको लागि सीमित स्थानको कारण समाजमा युवाहरूको एकाकीपन बढेको छ । युवाहरूलाई प्रयोगात्मक क्रियाकलापहरूमा संलग्न गराउन महत्वपूर्ण छ । शिक्षाले सामाजीकरणलाई सजिलो बनाउँदछ । शिक्षाले जिज्ञासालाई प्रेरित गर्नुपर्दछ र सिक्नेहरूमा अन्वेषणलाई प्रोत्साहित गर्नुपर्दछ । साथै, समानुभूति, लचिलोपन र विविधता जस्ता विषयहरूको महत्वपूर्ण सिकाएर ग्लोबल सिटीजन बन्न सबै देशका युवाहरूलाई अभिप्रेरित गर्नु आवश्यक छ । विश्वव्यापी शिक्षा प्रणालीलाई सुदृढीकरण गर्दै समकालीन वैश्विक चुनौतीहरूको सामना सहज रूपमा गर्न सकिन्छ । अहिले बिश्वले सामना गरिरहेका साझा समस्याहरू जलवायु परिवर्तन, जैवीक ईन्जिनियरिङ्ग, विच्छेदनशील प्रविधिहरू र आणविक हतियार जस्ता विषयहरूको बारेमा प्रत्यक देशका युवाहरू जानकार हुनुपर्छ, यस्ता विषयहरूमा सबैलाई जागरुक र संवेदनशील बनाउन शिक्षा प्रदान गर्नु निर्विकल्प उपाय हो ।

शिक्षा प्रदान गर्ने संस्थाहरूमा युवाहरूको अर्थपूर्ण संलग्नता महत्वपूर्ण छ । युवाहरूको अर्थपूर्ण संलग्नताले मात्र सामाजको रूपान्तरण प्रक्रियालाई गति दिन सक्छ । शिक्षाको भविष्यलाई आकार दिन महत्वपूर्ण निकायहरूमा युवाको समानुपातिक पहुँच र प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित हुनुपर्छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय सबैस्तरमा युवा वर्गलाई रूपान्तरणमा संलग्न गराउन अवसरहरू सिर्जना गरौं । आज क्षमता र इच्छुकता भएका युवाहरू सल्लाहकार समूह, विद्यार्थी संगठन, अनलाइन युवा शिक्षा केन्द्र आदि धेरै तरिकाले शिक्षाको रूपान्तरणमा संलग्न हुनसक्ने अवस्था छ ।

युवाहरूलाई सीमित कोटा छुट्याएर मात्र हुँदैन, निरन्तर र सान्दर्भिक रूपमा संलग्न गराउनुपर्छ र यसमा, यो कुरा विचार गर्नु महŒवपूर्ण छ कि युवाको मस्तिष्क र शैक्षिक जगतलाई असर गर्ने मुद्दाहरू गतिशील हुन्छन्, संसारका विभिन्न कुनामा ज्ञान र विज्ञानको निरन्तर विकास भइरहेको छ । हामीले युवाहरूलाई हाम्रा साझा पहिचान भनेकै मानवतावाद र प्रकृतिवाद रहेको कुरा सहज रूपमा प्रवाह गर्न शिक्षा प्रदान गर्नुपर्छ । यिनै साझा पहिचानले मान्छेलाई विशेष राष्ट्रप्रति मात्र नभइ मानव जाति र सिंगो पृथ्वीप्रति वफादार हुन प्रोत्साहन गर्छ । राष्ट्रवादले विश्वव्यापी रूपमा साझा पहिचान सिर्जना गर्न बाधा पु¥याइरहेको कुरा युवाहरूलाई बुझाउने खालको शैक्षिक पद्दति विकास गरौं जसले गर्दा विश्वका सबै नागरिकहरू त्यसको घेराभन्दा माथि उठेर मानवतावादका पक्षमा उभिन सकौं । शान्ति र मानवअधिकारको लागि शिक्षा प्रदानले विश्व समुदायलाई एकतावद्ध गर्न महत्वपूर्ण आधार तय गर्छ ।

शिक्षालाई रूपान्तरण गर्नका लागि हामीलाई सहयोग, समानुभूति र सामूहिक पहल आवश्यक छ । तब मात्र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्ने चुस्त, दिगो र आजीवन शिक्षा प्रणाली बनाउन युवाजनहरूले महत्वपूर्ण भूमिका खेल्नेछौ । प्रत्येक समाजको सफलता त्यस समयको शिक्षित जनसंख्या उत्पादन गर्नसक्ने क्षमतामा निर्भर छ । त्यसकारण, हामीलाई आज र भविष्यका मागहरू पूर्ति गर्न युवाहरूले आर्जन गरेका अनुभव र ऊर्जाको समिश्रणमार्फत् शैक्षिक संस्थाहरूको आमूल रूपान्तरण गर्न ढिलो गर्नु हुँदैन ।

अधिक युवाहरूलाई शिक्षण पेसामा सामिल हुन सशक्त बनाउँदा गुणस्तरीय शिक्षा सुधार गर्न, समावेशीकरणलाई बढावा दिन र शिक्षामा समानता सुनिश्चित गर्नका लागि आधार निर्माण हुनेछ, अझ विशेष गरी अल्पसंख्यक समुदायहरूमा गुणस्तरीय शिक्षाले उन्नतिको लामो दूरी तय गर्नेछ । अन्तमा, यदि हामी द्रुत रूपमा परिवर्तन भइरहेको विश्वमा शिक्षाको लागि दिगो समाधान प्रदान गर्ने हो भने हामीले युवा नेतृत्वमा आविष्कार र सहयोगी टेक्नोलोजीहरूको फाइदा उठाउनुपर्छ जुन प्रत्येक बालबालिकाको लागि शिक्षाको वातावरणलाई रूपान्तरण गर्दछ ।

Loading...