रिक्साको मनपरी

बुधवार नविन शाहीले फेसबुकमा लेखे, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एअरपोर्टदेखि बजारसम्म करिब एक दशमलब पाँच किलोमिटर अटोरिक्साको भाडा दुई सय ५० तिरियो ।’ उक्त फेसबुक पोष्टमा पत्रकार गोविन्द केसीले कमेन्ट गरेका छन्, ‘मैले पनि दुई सय ३० तिरें । धन्य, २० रुपैयाँ बच्यो ।’

वीरेन्द्रनगरमा सञ्चालन हुने अटोरिक्साले भाडामा कतिसम्म मनपरी गरेका छन् भन्ने हेर्न यही दृष्टान्त पर्याप्त छ । ई–रिक्साले मनपरी भाडा लिने गरेका छन् । जसबाट यात्रुहरु ठगिदै आएका छन् । भाडामा एकरुपता छैन । एउटै दूरीमा पनि चालक अनुसार फरक–फरक भाडा लिने गरिएको छ । छोटो वा लामो दूरीको भाडामा एकरुपता नहुँदा सेवाग्राहीहरु ठगिएका छन् । भाडा दर कायम, पार्किङ्ग र रुट व्यवस्थापन नहुँदा अटोरिक्साहरु जथाभावी रुपमा चलिरहेका छन् । जथाभावी रुपमा चल्ने ई–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा चुनौति बढेको छ । दुर्घटना बढेका छन् । ई–रिक्साले ठक्कर दिएर धेरैले ज्यान गुमाइसकेका छन् भने कयौं घाइते छन् । यसरी अटोरिक्साको मनपरीले क्षति निम्त्याइरहे पनि नियमन गर्नुपर्ने निकायको ध्यान भने पुगेको छैन ।

पछिल्लो समय वीरेन्द्रनगरमा रिक्साको प्रयोग बढेको छ । यसले यात्रुहरुलाई सुविधा पनि दिएको छ । धेरैलाई रोजगारीको अवसर पनि सिर्जन गरेको छ । तर यति हुँदाहुँदै पनि छिटोभन्दा छिटो यसको नियमनको आवश्यकता देखिएको छ । किनभने यसले राजधानी वीरेन्द्रनगरलाई अस्तव्यस्त बनाएको छ । दुर्घटनाको जोखिम बढाएको छ । त्यसैले स्थानीय निकायहरु रिक्सा नियमन र व्यवस्थापनमा जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय प्रशासन र ट्राफिक प्रहरीसँग्को समन्वयमा रिक्साको मनपरी नियन्त्रण गर्न सक्दछ ।

सुरुवातदेखि नै व्यवस्थित गरिनुपर्ने रिक्साहरुलाई यत्तिकै छोड्दा समस्या बढेको हो । अहिले आम यात्रुहरुमा यसको सही व्यवस्थापन हुन नसक्दा आक्रोश व्यक्त हुन थालेको छ । ई–रिक्साहरु विनालाइसेन्स र विना दर्ता नै सञ्चालन गर्न थालिएको छ । यसलाई नियन्त्रण गर्न यहाँको स्थानीय र प्रदेश सरकारले नै आवश्यक कानुनी व्यवस्था गर्न जरुरी छ । ईरिक्सा व्यवस्थापन, दर्ता, नियमन र अनुगमनको दायित्व यहीका सरकारको हो । सडक चाप बढी नै हुने सहरी क्षेत्रमा बढेका रिक्साहरुको चापले सडकलाई अस्तव्यस्त बनाएको छ । तिनीहरुलाई व्यवस्थित गर्न लाइसेन्स दिने, दर्ता गर्ने र व्यवस्थित रुपमा अर्थोपार्जन गर्नेगरी नियम गर्नुपर्दछ । त्यसैगरी भाडामा भएको मनपरीलाई समेत नियन्त्रण गर्न जरुरी छ । सबैलाई लागू हुने निश्चित भाडातर कायम गरी कार्यान्व्यन गराउन सकेमा मात्र यात्रुहरु ठगिनबाट जोगिन सक्नेछन् ।

प्रकाशित मितिः   १६ श्रावण २०७६, बिहीबार १६:०८