विश्वकप छनौटमा नेपालको पहिलो जीत

आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जीत हात पारेको छ ।

बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जीत निकालेको हो ।

पानी परेका कारण नौ ओभरमा घटाइएको खेलमा मलेसियाले नेपाललाइ ८४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २० बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

योसंगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

यस्तै ओपनरद्वय ज्ञानेन्द्र र प्रदिप ऐरीले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे । पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

मल्ल टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै नेपालका लागि विनोद भण्डारीले अविजित १३ तथा प्रदिप ऐरीले १२ रन बनाए । शरद भेषवाकर ३ रनमा अविजित रहदा दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।

जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ । र, नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो । मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा मलेसियाले कुवेतलाई हराएको थियो । दोस्रो स्थानको मलेसियाको २ अंक छ ।

अब नेपालले कुवेतसँग शनिबार र आइतबार सिंगापुरसँग खेल्नेछ । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मितिः   ८ श्रावण २०७६, बुधबार १२:३५